News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थर ब्रान्डले पिकासोदेखि भ्यान गगसम्मका चोरी भएका कलाकृतिहरू ट्र्याक गर्न आफ्नो जीवन बिताएका छन्।
- सन् २०२० मा उनले ८ करोड ६० लाख डलर मूल्यको पिकासोको चोरी भएको चित्र फेला पारेका थिए।
- ब्रान्डले चोरी भएका कलाकृतिहरू खोज्न प्रायः आठ वर्षसम्म काम गर्ने र दुई पुस्तक लेखिसकेका छन्।
आर्थर ब्रान्डले कला संसारका ‘इन्डियाना जोन्स’को उपनाम पाएका छन् । उनले आफ्नो जीवन पिकासोदेखि भ्यान गगसम्मका महान चित्रकारहरूको चोरी भएका कलाकृतिहरू ट्र्याक गर्नमा बिताएका छन् ।
इन्डियाना जोन्स एक काल्पनिक फिल्मी पात्र हुन् । सन् १९८० को दशकमा बनेको चर्चित फिल्मको यी पात्र पुरातत्त्वविद् हुन्छन् । उनले ऐतिहासिक महत्त्वका कलाकृतिहरू खोज्दै विश्वभर यात्रा गर्छन् ।
ठिक त्यस्तै आर्थर ब्रान्डले पनि आफ्नो जीवन हराएका, चोरी भएका कलाकृति खोज्न सुम्पेका छन् ।अहिले ५६ वर्षमा हिँडिरहेका यिनी कलाकृतिबारेका गोप्य कुराहरू सुन्न जहिल्यै पनि तयार हुन्छन् । मध्यरातमा उनलाई फोन गर्दा समेत केही अप्ठ्यारो मान्दैनन्।
‘तपाईले २४ सै घण्टा, हप्ताको सातै दिन काम गर्नुपर्छ’ आफूलाई गोप्य सूचना दिनेहरूबारे उनी भन्छन्, ‘किनभने यदि तपाईंले उनीहरूलाई भरे, भोलि भन्नुभयो भने उनीहरूले कहिल्यै फोन गर्दैनन् ।’
आजसम्म उनले कला चोर्ने व्यक्तिहरूदेखि उच्चपदस्थ कर्मचारीहरूसँग काम गरिसकेका छन् । यसो हुनाले उनका लागि फोन कलमा महत्त्वपूर्ण सूचना आउन सक्छ । किनकि कतिपय केसमा उनले त्यही कलबाटै लाखौँ पाउन्डको चित्र ट्र्याक गर्न सकेका छन् ।
उदाहरणका लागि, २०२० मार्चमा उनले ‘बुस्ट डे फेमे’ नामक पिकासोको चित्रकला फेला पारे । अहिले त्यस चित्रको मूल्य ८ करोड ६० लाख डलर बढी छ । यो चित्र सन् १९९९ मा एक शेखको डुङ्गाबाट चोरी भएको थियो ।
उनलाई उक्त चित्रकला दुई जना डच व्यापारीसँग भएको सूचना आयो । त्यसपछि उनले उनीहरूलाई सम्पर्क गरे । ती व्यक्तिहरूले चित्र चोरी भएर बेचिएको थाहा पाएका थिएनन् । अन्तमा, उनीहरूलाई फलो गर्दै जाँदा नै पिकासोको उक्त चित्र फेला पारेको थियो।
यसरी उनले आजसम्म करोडौं पर्ने चित्रकलाहरू पत्ता लगाएका छन् । बीबीसीलाई सन् २०२० मा दिएको एक अन्तर्वार्तामा उनले हालसम्म ३० करोड डलर बढीको कलाकृतिहरू ट्र्याक गरेको बताएका छन् ।
उनले यो काम स्पेनमा रहँदा विद्यार्थी कालदेखि नै थालेका थिए । यो काम उनको विशुद्ध व्यक्तिगत रुचिबाट सुरु भएको २०१५ को टेड टकमा उनले सुनाएका छन् ।
यसरी कसैले नभने पनि, कसैले नसुझाए पनि चोरी भएका कलाकृतिहरूबारे समाचार खोज्ने, संलग्न भएका व्यक्तिहरूको नाम लेख्ने, सम्पर्क गर्न खोज्ने काम उनले त्यतिबेलै देखि थालेका थिए ।
000
अहिले उनी धेरै मुद्दाहरूमा एक साथ काम गरिरहेका छन् । उनले प्राय: यी काम आफ्नै खर्चमा गर्ने गर्छन् । उनको आम्दानीको मुख्य स्रोत भने परम्परागत कलामा परामर्श दिनु हो । पुस्तकहरूबाट आउने रोयल्टी हो ।
हराएका/चोरी भएका कुनै पनि कलाकृति फेला परे उनले त्यसबाट पनि केही रकम त पाउँछन् । तर त्यो अत्यन्तै कम हुन्छ । त्यस्तै उनलाई कसैले चोरी भएको त्यस्ता कृतिहरू खोज्न लगानी पनि गरिदिन सक्छ्न् ।
तर सबै अवस्थामा उनको खोजलाई मान्छेहरूले सभ्य मान्दैनन् ।
त्यस्तै घटना सन् २०२३ मा उनले भोग्नुपर्यो । उनले ओस्कर वाइल्डको चोरी भएको औंठी फेला पारेका थिए । त्यो औंठी अक्सफोर्ड विश्वविद्यालयको म्याग्डालेन कलेजलाई फिर्ता गर्दा उनीहरूले त्यसलाई नक्कली भने । औंठीको ग्रीक लेखाइ भित्रपट्टि हुनु पर्नेमा बाहिर भएकाले नक्कली भन्ने उनीहरूको तर्क थियो ।
तर ब्रान्डले अनुसन्धान गर्दा वाइल्डकै पत्र भेटे । जसमा लेखाइ बाहिरपट्टि थियो । त्यसको आधारमा उक्त औंठी वास्तविक नै रहेको पुष्टि भयो । उनी कलेज प्रशासनसँग रिसाए । र, औंठी बुझाउने औपचारिक कार्यक्रममा जाँदै गएनन् । भलै त्यो खोजबाट उनले तीन हजार पाउन्ड पाएका थिए ।
000
प्राय: मान्छेहरूलाई कला चोरीका घटनाहरू सुन्नमा रमाइलो लाग्छ । अन्य अपराधमा जस्तो यसमा ठूलो मानवीय क्षति हुँदैन । यसको कारण चोरी गर्ने व्यक्तिहरूले संग्रहालय, ग्यालरी, धनाढ्य आदिबाट कलाकृतिहरू उठाउने गर्छन् ।
यदि यसमा मुद्दा परे सामान्यतया प्रहरीले केही वर्षसम्म मात्र अनुसन्धान गर्छन् । त्यसपछि उनीहरूले केस बन्द गर्छन् । ठिक त्यति बेलै ब्रान्ड मैदानमा आउँछन् । उनलाई एउटा केस समाधान गर्न प्रायः आठ वर्ष लाग्छ । कतिपय अवस्थामा त केस नसुल्झिन पनि सक्छ ।
उनले जुन काम गरिरहेका छन्, त्यो आफैंमा धेरै गाह्रो छ । रगत, पसिना र आँसु सबै निस्किन सक्छ । यो प्रशंसनीय काम पनि हो । यसमा चुनौती र जोखिम उत्तिकै छ ।
यति मेहेनेत गरेर पैसा हात नलागे उनी त्यस घटनाबारे पुस्तक लेख्छन् । आजसम्म आइपुग्दा उनले दुई वटा पुस्तक लेखिसकेका छन् । हराएका कला खोज्न आजीवन लागिरहने उनको अठोट छ ।
प्रतिक्रिया 4