News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशका आठै जिल्लामा मोन्था चक्रवातले चार दिनदेखि परेको वर्षाले धानसहितका बालीनालीमा ठूलो क्षति पुर्याएको छ।
- धनुषा नगराइनका किसान लक्ष्मण दासले ५ कठ्ठा खेतको धान बेमौसमी वर्षाले नष्ट भएको बताए।
- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दहालले क्षति विवरण संकलन भइरहेको जानकारी दिए।
१६ कात्तिक, जनकपुरधाम । आइतबार दिउँसो २ बजेतिर जब घाम लाग्यो, धनुषा नगराइन नगरपालिका-६ लगमाका किसान लक्ष्मण दास खेतमा भिजेको धान पल्टाउन खेतमा पुगे ।
दासले ११ कात्तिकमा काटेको धान दाइँ गरेर घर लैजान नपाउँदै बेमौसमी वर्षाले खेतमै भिजेर नष्ट हुने अवस्थामा पुगेको थियो ।
असारमा वर्षा नहुँदा स्यालो टुबेलको पानीले सिंचाइ गरी जसोतसो उब्जाएको ५ कठ्ठा खेतको धान काट्ने बेलामा लगातार चार दिन वर्षा हुँदा खेतमै ढल्यो ।
‘हेर्नुस् हाम्रो हालत,’ दासले भिजेको धान देखाए, ‘असारमा वर्षा नहुँदा सिंचाइ गरेर रोप्यौं, खाद्यमल, मिहिनेत र लगानी गरेर जसोतसो फलायौं, तर अहिले बेमौसमी वर्षाले ५ कठ्ठाको धान सखाप बनायो । भगवान र प्रकृति पनि किसानमाथि निर्मम छ । अब वर्षभरि के खाने ?’
असारमा पानी नपरेपछि उनले स्यालो टुबेलबाट सिंचाइ गर्दै, महँगोमा मल किनेर, ट्याक्टर भाडामा लिएर १४ कठ्ठा खेतमा धान रोपे । यही उब्जनीबाट उनको १० जनाको परिवारको वर्षभरिको गुजारा चल्छ । दुई क्विन्टल मल प्रयोग गरी उनले रातदिन सिंचाइ गरेर धान रोपेका थिए । तर वर्षाले झन्डै आधा धान नष्ट हुने स्थितिमा छ ।

लक्ष्मणकै छिमेकी लगमाकी महेश्वरी देवी पासवान पनि यस्तै पीडामा छिन् । उनले अर्काको ५ कठ्ठा खेत मनखपमा लिएर धान फलाएकी थिइन् । काटेर घर भित्र्याउने तयारी गर्दैगर्दा बेमौसमी वर्षाले उनको एक कठा धान खेतमै सडेको छ । बाँकी ४ कठ्ठाको धान पनि खेतमै ढलेको छ ।
‘जुन दिन काटेर भित्र्याउने तयारी गरेको थिएँ । त्यही दिनदेखि वर्षा भएर भिज्न थाल्यो । सड्यो,’ उनले दुःख पोखिन्, ‘मनखपमा लिएर सिंचाइ गरी जनवन लगाएर रोपेको थिएँ । राम्रै फलेको थियो । एक कठ्ठाको त सडिसकेयो । बाँकी ४ कठ्ठामध्ये केही मात्र बाँकी छ । अब के खाने र धनीलाई के दिने ?’
महेश्वरीको परिवार मनखप खेती र जनमजदुरीबाट चल्छ । धानबालीमा क्षति पुगेका आफू जस्ता किसानलाई सरकारले सहयोग गरोस् भन्ने उनको चाहना छ ।
बेमौसमी वर्षाले धानबालीमा गरेको क्षतिले धनुषाको नगराइन नगरपालिका-१ की इन्दिरादेवी मण्डललाई पनि उस्तै पिरोलेको छ ।

खडेरीको बेला असारमा रातभरि खेतमा धपेडी लगाएर सिंचाइ गरी उनको परिवारले एकबिघा धान रोपेको थियो । त्यसमा महँगोमै खाद्यमल किनेर हाले । मजदुर लगाए । अहिले तयार भएको धान घर भित्र्याउने बेला बेमौसमी वर्षाले खेतमै ढलेको छ । मौसमले दिएको दुःखले उनी चिन्तित छिन् ।
‘जतिबेला जरुरी थियो त्यतिबेला वर्षा भएन । अहिले जसोतसो उब्जाएँ । अब काटेर भित्र्याउने बेला वर्षा भएर ठूलो क्षति गर्यो,’ उनले दुखेसो पोखिन् ।
इन्दिरादेवीले वर्षाले किसानलाई ठूलो क्षति गरेकाले वर्षभरि हातमुख जोड्न समस्या हुने बताइन् । ‘सरकारले सहयोग गरेन भने किसान कसरी बाँच्छन् ?,’ उनको प्रश्न छ ।
उनीहरूको जस्तै पिरलो छ, नगराइन नगरपालिका-१ खर्गाटोलका विष्णुदेव खर्गालाई । असार महिना लामो खडेरीपछि उनले सिँचाइ गरेर एक बिघा खेतमा धान रोपे । तर अहिलेको बेमौसमी वर्षाले उनको धानमा क्षति पुर्याएको छ ।

धान खेतीमा निर्भर धनहरका किसानहरू वर्षभरिको जीविकोपार्जन यिनै बालीबाट गर्छन् । तर पछिल्ला वर्षहरूमा समयमा वर्षा नहुने र कुबेला पानी पर्दा खेतीपाती गर्न र जीवन गुजार्न झन् कठिन बनाएको विष्णुदेवको भनाइ छ ।
‘पहिले मौसमले साथ दिन्थ्यो, सरकारले नदिँदा खासै फरक पर्थेन । अहिले प्रकृतिले पनि साथ दिन छाड्यो । समयमा वर्षा हुँदैन, जसोतसो बाली फलाउँछौं । अनि बेमौसमी वर्षा भएर सखाप पार्छ,’ उनले भने ।
मधेश प्रदेशका आठै जिल्लामा मोन्था चक्रबातको कारण चार दिनदेखि परेको वर्षाले धानसहितका बालीनालीमा ठूलो क्षति गरेको छ । कतिपय खेतमा भुइँमा खसेका धानका बाला सड्न थालेका छन् । कतै पानीमा भिजेर अंकुरिन थालेको छ ।
यसअघि असारको अन्त्यसम्म वर्षा नहुँदा मधेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको थियो । सोही बेला संघीय सरकारले मधेशलाई संकटग्रस्त क्षेत्रका रूपमा वर्गीकरण गरेको थियो । त्यस बेला पनि किसानले राहत पाएनन् । सरकारले केही किसानलाई डिपटुबेल, स्यालो टुबेल, पावर ड्रिल बोरिङ दिएको थियो ।

सिंचाइ र साउनको सीमित वर्षाको भरमा जसोतसो धान रोपेका किसानका बाली अहिले फल्न लागेको वा पाकिसकेको अवस्थामा वर्षाले नष्ट पारेको छ ।
हालको क्षति विवरण संकलन भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दहालले जानकारी दिए ।
गत असोजको तेस्रो साता परेको वर्षा र डुबानले पनि मधेशका किसानलाई ठूलो मार पारेको थियो । मन्त्रालयका अनुसार त्यतिबेला ६ हजार हेक्टर धानवाली आंशिक वा पूर्ण रूपमा क्षति भएको थियो । यस वर्ष मधेश प्रदेशभर ३ लाख १९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।
प्रतिक्रिया 4