Comments Add Comment

भारोत्तोलनमा एकैदिन नौ राष्ट्रिय कीर्तिमान

देविकुमारी, कमला र प्रकाशलाई स्वर्ण

७ वैशाख, नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनमा शनिबार एकै दिन नौ राष्ट्रिय कीर्तिमान बनेका छन् ।

नेपाल पुलिसकी देविकुमारी चौधरीले ५५ केजी तौल समूहमा तीन कीर्तिमान कायम गर्दा आर्मीकी कमला श्रेष्ठले ५९ केजी तौल समूहमा कीर्तिमान कायम गरिन् ।
पुरुषतर्फ ६७ केजी तौल समूहमा नेपाल पुलिस क्लबका प्रकाश केसीले कीर्तिमान कायम गरे ।

नेपालगञ्जमा शनिबार भएको खेलमा देविकुमारी चौधरीले स्न्याचतर्फ ६५ र क्लिन एण्ड जर्कतर्फ ८१ केजी गरी कुल १४६ केजी तौल उठाउँदै स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याच, क्लिन एण्ड जर्क र कुल तौल गरी तीन विधामा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघले भरखरै नियम परिवर्तन गरेपछि अहिले धमाधम राष्ट्रिय कीर्तिमान बन्न थालेको हो । यसअघि पहिलो दिन शुक्रबार ११ राष्ट्रिय कीर्तिमान बनेको थियो ।

त्यस्तै आर्मीकी मनिषा रानाभाट दोस्रो हुदै रजत पदक प्राप्त गरिन् । उनले स्न्याचतर्फ ४७ र क्लिन जर्कतर्फ ६० गरी कुल १०७ केजी तौल उठाएकी थिइन् ।

तेस्रो पनि नेपाल आर्मीकै गौरी चौधरी बनिन् । उनले स्न्याचतर्फ ४५, क्लिन जर्कतर्फ ५५ गरी कुल १०० केजी तौल उठाइन् ।

त्यस्तै ५९औं तौल समूहमा कमला श्रेष्ठले स्न्याचतर्फ ७०, क्लिन एण्ड जर्कतर्फ ८० गरी कुल १५० तौल उठाउँदै स्वर्ण पदकसहित तीन राष्ट्रिय कीर्तिमान कायम गरिन् ।
नेपाल पुलिसकी जुनुमाया छन्त्यालले रजत पदक जित्दा प्रदेश चारकी टीका माया गुरुङले कास्य पदक जितिन् ।

शनिबार नै भएको अर्को खेलमा नेपाल पुलिसका प्रकाश केसीले स्न्याचतर्फ १०३, क्लिन एण्ड जर्कतर्फ १२२ गरी कुल २२५ केजी तौल उठाउँदै स्वर्ण पदक जिते । उनले स्न्याच, क्लिन एण्ड जर्क र कुल तौल गरी तीन राष्ट्रिय कीर्तिमान बनाए ।

आर्मीका जीवन तामाङ दोस्रो हुदा प्रदेश चारका धनबहादुर झाँक्री तेस्रो बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment