
४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरको नभई विद्वानको देश बनाउनुपर्ने बताएका छन् ।
विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्र्थीसँग अन्तर्क्रिया गर्दै उनले नेपालीहरु विद्वानका सन्तान भएकाले निरक्षर हुन नसक्ने जिकिर गरे ।
‘नेपाललाई निरक्षरको होइन, विद्वानको देशको रुपमा पहिचान बनाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्छ, विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’
प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए । ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनुपर्छ’ प्रम ओलीले भने ‘त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन् ।’
युवा र विद्यार्थीहरुले अब सिर्जनशील र समाज सुधारको काममा लाग्न कुनै अवरोध नरहेको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको भन्दै युवाहरु समाज सुधारमा लाग्नुपर्ने बताए ।
‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादनजस्ता कुरामा ध्यान दिनुपर्छ ।’
गतबर्ष देखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरे ।
प्रतिक्रिया 4