News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले अध्यक्ष केपी शर्मा ओलीले २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भएको र भोलिपल्ट २४ भदौमा विध्वंश भएको बताएका छन्।
- उनले २४ भदौमा राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र पार्टी कार्यालयहरूमा तोडफोड, लुटपाट, आगजनी र मानवीय क्षति भएको उल्लेख गरे।
- ओलीले २४ भदौका आरोपीलाई उन्मुक्ति दिइएको र प्रतिवेदनहरू गुपचुप राखिएको भन्दै दण्डहीनता र अराजकताविरुद्ध एकताबद्ध हुन आह्वान गरेका छन्।
२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरुवात भएको बताएका छन् ।
बुधबार भिडयो सन्देश जारी गर्दै उनले तर शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर त्यस दु:खद अवस्थाको सिर्जना गर्ने तत्वहरूको उदेश्य बेग्लै रहेको बताएका हुन् ।
‘शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर त्यस दुःखद अवस्थाको सिर्जना गर्ने तत्वहरूको उद्देश्य बेग्लै थियो । भोलिपल्ट २४ भदौमा राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, पार्टी कार्यालयहरू र निजी सार्वजनिक सम्पत्ति लगायत माथि जुन स्तरको तोडफोड लुटपाट आगजनी र मानवीय क्षति गरियो त्यो अघिल्लो दिनको मानवीय क्षतिको आवेग मात्र थिएन ।’
अध्यक्ष ओलीले २४ भदौलाई कहाली लाग्दो विध्वंश भएको दिनको रूपमा स्मरण गरेका छन् ।
‘त्यो (२४ भदौ) त राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील बाटोलाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद र अराजकतामा होम्ने घातक षड्यन्त्रको मूर्त रूप थियो,’ ओलीले भनेका छन्, ‘आज पनि प्रश्न अनुत्तरित छ २४ भदौको विध्वंशका आरोपीहरूलाई किन उन्मुक्ति दिइँदै छ ? किन प्रतिवेदनहरू गुपचुप राखिँदै छ ?’
नवयुवाहरूको मनसाय र सरोकार असल थियो भन्नेमा आफूहरू विश्वस्त रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘तर जेनजी विद्रोहका नाममा गराइएको हिंसाबाट अर्कै तत्वहरूले अनुचित लाभ लिए ।’
अहिले पनि युवाहरूमा निराशा व्याप्त रहेको उनले बताएका छन् ।
अगाडि थप्छन्, ‘आम नेपाली जनता र सिंगो राष्ट्र चाहन्छ अब कहिल्यै त्यस्तो नहोस् ।’
अहिले पनि लोकतान्त्रिक संस्था र पार्टीहरू विरुद्ध प्रतिशोध र घृणा फैलाउने दुश्चेष्टा भइरहेको भनेर पनि उनले असन्तुष्टि जनाएका छन् । यस्तो कार्यले मुलुकलाई अझ तीव्र ताका साथ पश्त्यगमन तिर धकेल्ने उनको चिन्ता छ ।
उनले भनेका छन्, ‘यस्तो संवेदनशील घडीमा लोकतन्त्र संविधान राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि सम्पूर्ण देशभक्त लोकतान्त्रिक प्रगतिशील र वामपन्थी शक्तिहरू र सम्पूर्ण शान्ति कामी जनता एक ठाउँमा उभिनु अपरिहार्य भएको छ । आउनुहोस् २४ भदौको यस दुःखद क्षणको स्मरणका दिन हामी सबै मिलेर दण्डहीनता र अराजकता विरुद्ध उभिने र राष्ट्रिय सुरक्षा एवं समृद्ध नेपाल निर्माणको बाटोमा एकताबद्ध हुने संकल्प गरौं ।’
प्रतिक्रिया 4