News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल-तिब्बत सीमा बाढीपीडितबारे रङ्गभेदी टिप्पणी गर्ने २९ देखि ६६ वर्षका पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
- सिंगापुरका गृहमन्त्री के. षण्मुगमले ती टिप्पणीलाई 'लज्जास्पद, घिनलाग्दो र पूर्णतया अस्वीकार्य' भन्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिनुभयो।
- डिजिटल विकास तथा सूचना मन्त्रालयले समुदायको मापदण्ड उल्लङ्घन गर्ने घृणास्पद सामग्री हटाउन सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निर्देशन दिएको छ।
२४ भदौ, काठमाडौं । नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
सिंगापुरका गृहमन्त्री तथा राष्ट्रिय सुरक्षा समन्वय मन्त्री के. षण्मुगमले सामाजिक सञ्जालमा आएका यस्ता टिप्पणीहरूलाई ‘लज्जास्पद, घिनलाग्दो र पूर्णतया अस्वीकार्य’ भन्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले कारबाही अघि बढाएको हो।
सिंगापुर प्रहरीले २९ देखि ६६ वर्ष उमेर समूहका पाँच जनालाई पहिचान गरी सोधपुछ गरिएको पुष्टि गरेको छ।
नेपालको बाढीपहिरोमा परी १ हजारभन्दा बढी मानिसको ज्यान गएको र केही सिंगापुरका नागरिकसमेत सम्पर्कविहीन रहेको संवेदनशील परिस्थितिमा अनलाइन प्रयोगकर्ताहरूले भारतीय मूलका सिंगापुरवासीलाई लक्षित गर्दै घृणास्पद टिप्पणी गरेका थिए।
मन्त्री षण्मुगमका अनुसार सामाजिक सञ्जालमा उनीहरूले ‘होइन, ती हाम्रा आफ्ना होइनन्’, ‘मैले यहाँ भारतीय अनुहार मात्र देखिरहेको छु। छोडिदेऊ, उद्धार बन्द गर’, लगायतका टिप्पणी गरेका थिए ।
एयर इन्डिया लगानी र टेमासेकका सीईओमाथि निशाना
बाढीसम्बन्धी टिप्पणीका साथै भारतीय वायुसेवा कम्पनी एयर इन्डियामा सिङ्गापुर एयरलाइन्सको थप लगानीको विषयलाई लिएर पनि अनलाइनमा भारतीय समुदायविरुद्ध घृणा फैलाइएको पाइएको छ।
अत्यधिक वार्षिक घाटापछि एयर इन्डियाले आफ्ना मुख्य लगानीकर्ता टाटा सन्स र सिङ्गापुर एयरलाइन्ससँग करिब १.५ अर्ब अमेरिकी डलर थप पूँजी माग गरेको समाचार सार्वजनिक भएपछि यस्तो विवाद सुरु भएको थियो।
त्यसपछि अनलाइनमा भारतीय समुदायलाई ‘सर्प, करी, पराठा र कालो जादु’ जस्ता अपमानजनक विम्ब प्रयोग गरेर टिप्पणी गरिएको थियो।
इन्टरनेट प्रयोगकर्ताहरूले सिङ्गापुर एयरलाइन्सको मुख्य स्वामित्व रहेको सरकारी लगानी कम्पनी टेमासेकका प्रमुख कार्यकारी अधिकृत दिल्हान पिल्ले सन्द्रासेगरालाई समेत उनको जातीय पृष्ठभूमिका आधारमा निशाना बनाएका थिए।
सीईओ भारतीय मूलको भएकाले उनले एयर इन्डियाको पक्षपात गरेको आरोप अनलाइनमा लगाइएको थियो।
यसप्रति कडा आपत्ति जनाउँदै मन्त्री षण्मुगमले भने, ‘उनीहरूको नजरमा सीईओको अपराध भनेकै उनी भारतीय मूलका हुनु हो, जबकि उनी हामीजत्तिकै सिंगापुरका नागरिक हुन्। यो अत्यन्तै घिनलाग्दो र मानहानिपूर्ण छ।’
सामाजिक सञ्जालबाट आपत्तिजनक सामग्री हटाउन निर्देशन
सिंगापुरको डिजिटल विकास तथा सूचना मन्त्रालयले समुदायको मापदण्ड उल्लङ्घन गर्ने यस्ता घृणास्पद टिप्पणीहरू तत्काल हटाउन सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निर्देशन दिएको छ।
सिंगापुर प्रहरीले जातीय भावनामा चोट पुर्याउने वा विभिन्न जातजातिबीच शत्रुता र वैरभाव फैलाउने कार्यलाई गम्भीरतापूर्वक लिइएको र थप संलग्नहरूको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।
मन्त्री षण्मुगमले सिंगापुर बहुजातीय र बहुधार्मिक देश भएकाले जातीय विभाजनले देशको जग नै कमजोर बनाउने चेतावनी दिएका छन्।
‘यदि हामी जातीय वा धार्मिक आधारमा विभाजित भयौँ भने सिंगापुरलाई बलियो बनाउने एकता गुम्नेछ,’ उनले भने, ‘सुरुमा सानो समूहले यस्ता घिनलाग्दा कुरा बोल्छन्, पछि त्यो सामान्य बन्दै जान्छ र अन्ततः राजनीति तथा समाजमा स्थापित हुन्छ। हामीले यसलाई कुनै पनि हालतमा सहन गर्नुहुँदैन।’
(एससीएमपीको सहयोगमा)
प्रतिक्रिया 4