+
+
Shares

आफन्तको झिनो आशा : फोनको चार्ज सकिएर सम्पर्क नभएको होला

फोन गर्दा बारम्बार एउटै जवाफ आउँछ– ‘तपाईँले डायल गर्नु भएको मोवाइलको स्विच अफ गरिएको छ।’

शान्ता अधिकारी शान्ता अधिकारी
२०८३ भदौ १५ गते २१:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीपछि सम्पर्कविहीन आफन्त खोज्न चितवन आएका परिवारलाई होटल व्यवसायी र अटो व्यवसायीले निःशुल्क खाना, बस्ने र यातायात सेवा दिएका छन्।
  • चितवनका अटो व्यवसायीले अस्पताल र खोजीस्थलमा आवतजावत सहज बनाउन १५ वटा अटो निःशुल्क सञ्चालनमा ल्याएका छन्।
  • चितवनमा ८३८ जनाले आफन्त हराएको सूचीमा नाम टिपाएका छन्, र उनीहरू अस्पताल, नदी किनार र सम्भावित स्थानमा निरन्तर खोजी गरिरहेका छन्।

१५ भदौ, चितवन । बिहानदेखि साँझसम्म अस्पताल, नदी किनार र सम्भावित घटनास्थलमा दौडधुप। हातमा मोबाइल, आँखामा आफ्ना मान्छे भेटिने आशा।  शरीर थकित छ, भोकले सताएको छ तर खाना खान मन लाग्दैन।

‘खाना खानुस्’ भनेर कसैले मायाले सम्झाएपछि बल्ल दुई गास मुखमा हाल्छन्। तर पस्किएको खाना अगाडि राख्दा पनि आँसु थामिँदैन। खान सक्दैनन्।

भोटेकोशी बाढीपछि सम्पर्कमा नआएकाहरू आफन्तको खोजीमा चितवन आएका छन् । उनीहरूको साझा कथा हो यो।  आफन्तको खोजीमा आएकाहरूलाई यहाँका होटल व्यवसायी र अटो व्यवसायीले सकेको सहयोग गरिरहेका छन् ।

उनीहरूलाई खाना र बस्ने व्यवस्था मिलाइएको छ । अस्पताल तथा खोजीका विभिन्न स्थानमा पुग्न १५ वटा अटो निःशुल्क सञ्चालनमा छन्।

बेपत्ताका आफन्तलाई निःशुल्क अटो

आफन्तको खोजीमा चितवन आएका परिवारलाई अस्पताल तथा अन्य स्थानमा पुग्न सहज होस् भनेर अटो व्यवसायीहरूले पनि निःशुल्क सेवा दिइरहेका छन्।  भरतपुर क्षेत्रमा अटो चलाउने खुसी रम्तेलका अनुसार आफन्तहरू चितवन आउने क्रम बढेपछि यातायातमा सहयोग गर्न निःशुल्क अटो सञ्चालन गरिएको बताए ।

उनी भन्छन्, ‘आफन्तहरू चितवनमा आउने क्रम बढेको छ। उहाँहरूलाई यातायातको आवश्यकता परेसँगै हामीले सहजीकरण गर्नुपर्छ भन्ने लाग्यो,’ रम्तेलले भने, ‘हामीले सानो सहयोग गरेका हौं।’

परिवार खोज्दै हिंडेका आफन्तहरूको अवस्था देख्दा निकै मन रुने रम्तेल बताउँछन्। रम्तेल भन्छन्, ‘अटोमा चढेका आफन्तहरू प्रायः मौन हुन्छन् । कोही पनि कुरा गर्न चाहनुहुन्न। दुःखमा हुनुहुन्छ। कोही रोइरहनुभएको हुन्छ।’

होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्याल भोटेकोशीमा बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गतेबाट संघले आफन्त तथा पीडित परिवारलाई सहयोग गर्दै आएको बताउँछन्। उनी भन्छन्, ‘मुग्लिनदेखि मेघौलीसम्मका आठवटै इकाइबाट सेवा दिइरहेका छौं। शव खोज्न तथा पहिचान गर्न आउनुभएका आफन्तहरूलाई अस्पताल, नदी किनारलगायत विभिन्न स्थानमा खाना खुवाइरहेका छौँ।’

पाँच सयभन्दा बढीले संघबाट उपलब्ध गराइएको खाना तथा अन्य सेवा लिइसकेको अर्यालले जानकारी दिए। चितवनका विभिन्न होटलमा आफन्तका लागि निःशुल्क बस्ने व्यवस्थासमेत गरिएको छ। उनका ग्यास अभावका कारण होटल व्यवसायीलाई समेत समस्या भए पनि सेवा गर्न भने छाडेका छैनन्।

आफन्तको अवस्था यति कमजोर छ कि उनीहरूलाई खाना खानका लागि पनि सम्झाउनु पर्छ। उनी भन्छन्, ‘बिहानदेखि खोज्न हिँड्नुभएको हुन्छ। धेरै गार्‍हो भएको हुन्छ। खाना खाइदिनुस् भनेर मायाले भन्नुपर्छ । खोज्न जाँदा खाने ठाउँ नहोला भनेर अनुरोध गरेर खुवाउनुपर्ने अवस्था छ।’

होटल व्यवसायी संघ चितवनका महासचिव कृष्णकुमार महतोले आफन्तहरूको अवस्था देख्दा आफूहरू पनि भावुक हुने गरेको बताए।

उनी भन्छन्, ‘पीडित परिवारहरू एकदमै दुःखमा हुनुहुन्छ। खाना खान पनि आँसु झार्नुहुन्छ,’ महतोले भने, ‘कोठामा जाँदा पनि अबेर रातिसम्म फोनमा कुरा गरिरहेको सुनिन्छ। कोही राम्रोसँग सुत्न पनि सक्नु भएको छैन।’

आफ्ना मान्छेको खोजीमा रहेका आफन्तहरू मोबाइलमै व्यस्त छन् । कतैबाट फोन आउँछ कि, कतै आफ्नो मान्छेको खबर भेटिन्छ कि भन्ने आशामा उनीहरू बारम्बार फोन गरिरहेका हुन्छन् ।

महतो थप्छन्, ‘यहाँ आएका आफन्तहरूको अवस्था हेर्दा मन छियाछिया भएको छ। यस्तो दुःखमा सहयोग गर्न पाउँदा खुसी पनि लागेको छ। तर हामीले पस्केको खाना खाँदा पनि आँसु झार्नुहुन्छ। त्यो देख्दा मन कस्तो हुन्छ ।
सल्यानबाट आएका सात आफन्त चार दिनदेखि चितवनमा छन्। रसुवाको टिमुरेमा तारजालीको काम गर्ने एउटै गाउँका सात जना बेपत्ता भएपछि उनीहरू खोजीका लागि चितवन आएका हुन्।

खोजीमा आएका गोपाल मगर भन्छन्, ‘ठूलो बुवा र दाइ बेपत्ता हुनुहुन्छ। एउटै गाउँका सात जना बेपत्ता हुनुहुन्छ,’ चार दिन भयो यहाँ आएको। होटल व्यवसायीले खान र बस्न दिनुभएको छ।’

आफन्तको खोजीमा नै चितवन आएका हस्त मगरको पीडा पनि उस्तै छ । उनी भन्छन्, ‘अहिलेसम्म केही अत्तोपत्तो छैन। सास कि लास, केही पनि पाएको छैन। धेरै ठाउँ जाँदा फेरि चितवन आइपुगेका छौं। अवस्था धेरै कमजोर भइसकेको छ।’

‘सकेसम्म सास लिएर आउँछु भनेर आएका छौं। घरमा अहिले कुन मुख लिएर जाने भन्ने भएको छ,’ गोपाल भन्छन्।  अरूको उद्धार भएको र मृतकको पहिचान भएको देख्दा आफ्नो मान्छे पनि भेटिन्छ की भन्ने आशा पलाउने गरेको उनी बताउँछन्।

‘दैनिक २०औं पटक फोन गर्छु’

चितवनमा अहिलेसम्म ८३८ जनाले आफन्त हराएको भन्दै हराएको सूचीमा नाम टिपाएका छन्। तीमध्ये वीरगञ्जको जगन्नाथपुरका अलि मोहम्मद पनि एक हुन्।

अलिका २१ वर्षीय छोरा साहुबुदिन मोहम्मद बेपत्ता छन्। छोराको खोजीमा उनी अस्पतालदेखि सम्भावित विभिन्न स्थानसम्म पुगिरहेका छन्। मोबाइल निकालेर पटक–पटक फोन गर्छन् । तर फोन लाग्दैन।
‘दिनमा २० पटकभन्दा धेरै फोन गर्छु। एक–डेढ घण्टामा फोन गर्छु, तर सधैं स्विच अफ भन्छ,’ उनले आँसु पुछ्दै भने।

छोरा हराएको यतिका दिनभयो अस्पतालहरूमा खोजिसके, तर केही पत्ता लागेको छैन। उनी भन्छन्, ‘मलाई शंका छ, भागेर माथि कतै बसेको छ कि ।’

बुवा र भाईसँग छोरा खोज्न आएका अलिलाई छोरा फर्कने आशा अझै छ । छोराको फोन कतै लाग्छ कि भन्ने आशामा उनी लगातार फोन गरिरहेका छन् । छोराको खोजी आएका उनको खर्च सकिएको छ । परिवारमा कमाउने मुख्य व्यक्ति उनी नै हुन् । बुवा र भाइसँगै चितवन आएका  उनी भन्छन्, ‘गोजीमा पैसा छैन। अरूसँग सापटी पैसा लिएर हिँडेको छु ।’

उनी भन्छन्, ‘खाना खान पहिलोपटक यहाँ आएको हुँ। खाना खाएपछि फेरि अस्पताल गएर स्क्रिनमा हेर्छु।”

उनका बुवा नातीको चिन्तामा लगातार रोइरहेका छन्। खाना खान र सुत्नसमेत मानिरहेका छैनन्। आज यहाँ खोजेपछी अब उनी काठमाडौं जाने तयारीमा छन् । उनि भन्छन्, ‘बिहान पुगे भने काठमाडौंका तीनवटै अस्पतालमा गएर खोज्छु ।’

आशा बाँकी नै छ

आफन्त हराएका परिवारका लागि हरेक दिन नयाँ आशा र नयाँ पीडा बोकेर आएको छ। अस्पतालका स्क्रिनमा आफ्नो मान्छेको अनुहार खोज्नु, नदी किनारमा आँखा दौडाउनु र मोबाइलमा बारम्बार फोन गर्नु उनीहरूको दैनिकी बनेको छ।

फोन गर्दा बारम्बार एउटै जवाफ आउँछ– ‘तपाईँले डायल गर्नु भएको मोवाइलको स्विच अफ गरिएको छ।’

तर फोन बन्द हुनुको अर्थ आशा पनि बन्द हुनु होइन। त्यसैले उनीहरू फेरि फोन गर्छन्। फेरि अस्पताल पुग्छन्। फेरि नदी किनार पुग्छन्। वीरगंजका अलि मोहम्मद भन्छन्, ‘त्यहाँ टावरहरू छैनन् रे ! लाईन गएको छ रे ! चार्ज गर्न नपाएको होला।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?