News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको स्याफ्रुबेसी र टिमुरेबाट उद्धार गरिएका करिब ३०० बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा अस्थायी बसोबास गराइएको छ ।
- गुम्बामा पीडितका लागि खाना, स्वास्थ्य उपचार र मनोपरामर्शको व्यवस्था गरिएको छ भने सरकारबाट १० वटा ग्यास सिलिन्डर उपलब्ध गराइएको छ ।
- तीन महिनासम्म पीडित राख्ने समयावधि निर्धारण गरिएको छ र फोटो-भिडियो खिच्न तथा मिडियालाई प्रतिक्रिया लिन निषेध गरिएको छ ।
१५ भदौ, काठमाडौं । रसुवाको स्याफ्रुबेसी टिमुरेबाट उद्धार गरिएका करिब ३ सय बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।
उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो गुम्बामा राख्न थालिएको हो । उक्त गुम्बामा पहिलो दिन ६२ जनालाई ल्याइएकोमा अहिले करिब ३ सय छन् ।
शनिबार र आइतबार अस्थायी बसोबासका लागि येलो गुम्बामा आउने पीडितहरूको संख्या बढे पनि सोमबारदेखि बढ्ने क्रम रोकिएको व्यवस्थापनमा खटिएका स्वयंसेवीहरूले बताए ।
रसुवाको बढी प्रभावित क्षेत्रबाट बाढीपीडितहरू ल्याएर येलो गुम्बामा राखिएको थाहा पाएसँगै सहयोग गर्नेहरूको लर्को लागेको छ । व्यक्ति, संस्था, व्यवसायी, कलाकार, उद्यमी लगायतले पीडितलाई बसोबासका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराएका छन् ।

बाढीपीडितका लागि गुम्बामै पकाएर खुवाउने व्यवस्था गरिएको छ । मेसको व्यवस्थापन स्वयंसेवकका रूपमा कलाकार रविन्द्रसिंह बानियाँले गरेका छन् ।
सरकारको तर्फबाट हालसम्म १० वटा ग्यास सिलिन्डर उपलब्ध गराइएको छ । खानाको लागि आम नागरिक, व्यवसायी, उद्यमी, कलाकार लगायतबाट आवश्यक सामग्री सहयोग भएको छ ।
बच्चादेखि वृद्धसम्मलाई गुम्बामा राखिएको छ । उनीहरूको स्वास्थ्य उपचारका लागि आधा दर्जन स्वास्थ्यकर्मीको टोली खटिएको छ । गुम्बाको गेटसँगै उपचार केन्द्र स्थापना गरी आवश्यक उपचारको व्यवस्था मिलाइएको छ ।
डा. रामजी रामको नेतृत्वमा स्वास्थ्यकर्मीहरू बाढीपीडितको उपचारमा खटिएका छन् । गुम्बामा उपचार हुन नसक्ने बिरामीहरूलाई अस्पतालमा रिफर गर्ने गरिएको छ ।
‘नियमित औषधि खानुपर्ने वृद्धहरू पनि हुनुहुन्छ,’ स्वयंसेवीको रूपमा कार्यरत एक युवाले अनलाइनखबरसँग भने, ‘आफूले खाने औषधि थाहा नहुने वृद्धहरूलाई समेत यहाँ ल्याइएको छ । स्वास्थ्यको सबै परीक्षण गरी उहाँहरूले खाने औषधिको व्यवस्था गरेका छौं ।’
रसुवाको स्याफ्रुबेशी र टिमुरेका बाढीपीडितलाई येलो गुम्बामा ल्याएर राख्ने तदरुकता त्यहीँका स्थानीयले गरेका थिए । ती क्षेत्रका करिब २० युवाले स्वयंसेवीका रूपमा व्यवस्थापनको जिम्मेवारी लिएर गुम्बामा बाढीपीडितलाई राखेका छन् ।

हाल तीन महिनासम्म पीडितलाई राख्न सक्ने गरी समयावधि निर्धारण गरिएको छ । तीन महिनासम्म पनि बाढीपीडितलाई आफ्नो स्थानमा फर्कने अवस्था नबने रसुवा समाजले गुम्बामा बसोबासको अवधि बढाउन सक्ने जानकारी गराइएको छ ।
गुम्बामा रहेका बाढीपीडितको फोटो-भिडियो खिच्च निषेध गरिएको छ । मिडियालाई गुम्बामा अस्थायी सेल्टर बनाएका बाढीपीडितको प्रतिक्रिया लिन दिइएको छैन ।
गुम्बामा स्वयंसेवी भएर क्रियाशील कलाकार रविन्द्रसिंह बानियाँ पीडितहरूको भनाइ उधृत गर्दै भन्छन्, ‘हामीलाई सहयोग चाहिएको छ । हाम्रो कुरा सुनिदिनुहोस् । तर हाम्रो पीडालाई प्रदर्शन नगरिदिनुहोस् ।’
काठमाडौँमा पढिरहेका रसुवाका विद्यार्थीहरू जो गुम्बामा स्वयंसेवी भएर आफ्नै स्थानका पीडितका लागि खटिरहेका छन्, उनीहरूको राज्यसँग अनेक प्रश्न रहेको कलाकार बानियाँ बताउँछन् ।

टिमुरे र स्याफ्रुबेसी घर भई काठमाडौं बसिरहेका स्वयंसेवी विद्यार्थीहरू भन्छन्, ‘अस्थायी सेल्टरमा कति दिन बस्ने ? त्यसपछि कहाँ जाने ? हाम्रो बुवा-आमा र घर सबै बग्यो । अब म स्कुल छोड्नुपर्ने हो ? भाइबहिनीको स्कुलको फी कसले तिरिदिने ? हाम्रो नागरिकता, पासपोर्टलगायत आवश्यक कागजात कसले बनाइदिने ?’
तत्कालका लागि खाद्यान्न र बसोबासको व्यवस्था भए पनि बाढीबाट त्रसित मनोविज्ञानलाई उचित परामर्शको आवश्यकता रहेको स्वयंसेवामा खटिरहेकाहरू बताउँछन् ।
मनोपरामर्शमा भाषाले समस्या पारिरहेको एक स्वयंसेवी बताउँछन् । उनी भन्छन्, ‘नेपाली भाषा नबुझ्नेहरू पनि हुनुहुन्छ । उहाँहरू बोल्ने भाषामा मनोपरामर्श गरिदिने व्यक्ति हामी खोजिरहेका छौं ।’
बालबालिकालाई मनोवैज्ञानिक त्रास सिर्जना हुन नदिन खेल्ने सामग्रीहरू सहयोगीले उपलब्ध गराएका छन् ।
बाढीपीडितलाई सहयोग गर्न इच्छुकले सेल्टरमा जुन चिजको आवश्यकता छ, त्यसैअनुसार सहयोग गर्न आग्रह गरिएको छ । विभिन्न क्षेत्रबाट आएका सामग्रीहरू राख्नका लागि गोदामको व्यवस्थासमेत गरिएको छ ।
प्रतिक्रिया 4