Comments Add Comment

धुर्मुस सुन्तली रंगशालाको सद्भावना दूतमा पारस र सन्दीप

२६ वैशाख, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ को सद्भावना दूतमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र क्रिकेटर सन्दीप लामिछाने नियुक्त भएका छन् ।

फाउण्डेसनले बिहीबार आयोजित कार्यक्रममा पारस र सन्दीपलाई सद्भावना दूतमा नियुक्त गरेको हो । यो अभियानले रंगशाला निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाटै आर्थिक संकलन गर्नुपर्ने र एउटा राम्रो सन्देश विश्वभर पु¥याउने कप्तान पारस खड्काले बताए ।

‘हाम्रै लागि चलिरहेको यो अभियानमा जोडिन पाउँदा निकै खुसी छु’ उनले भने ‘मैले सुरुवातदेखि नै फाउण्डेशनलाई सहयोग गरिरहेको छु । अझै यो जिम्मेवारीले थप सहयोग गर्न र नेपाललाई विश्वमा चिनाउन मैले र हाम्रो पुरा टिमले सक्ने सहयोग गर्नेछौं ।’

त्यस्तै रंगशाला निर्माणका लागि खेलकुद समिति पनि गठन गरिएको छ । तेक्वान्दो प्रशिक्षक दीपक बिष्टको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिमा फुटबलका प्रशिक्षक हरि खड्का, तेक्वान्दोकी संगीना वैद्य, भलिबलका भरत शाह, क्रिकेटका विनोद दास र पौडीकी गौरिका सिंह छन् ।

त्यस्तै, करातेका दीपक श्रेष्ठ, क्रिकेटकी रुविना क्षेत्री, भलिबलकी सरस्वती चौधरी, बक्सिङका दीपक महर्जन, शारीरिक सुगठनका महेश्वर महर्जन, फुटबलकी सावित्रा भण्डारी, फुटबलकै अनिल गुरुङ र छुम्बी लामा रहेका छन् ।

समितिले रंगशाला निर्माणका लागि देश विदेशमा आर्थिक संकलनका अभियानहरु सञ्चालन गर्ने र सबै खेलाडीहरुलाई अपनत्व ग्रहण हुने गरी सहयोग गर्नेछ ।

‘धुर्मुस सुन्तली आफ्नो कार्यक्षेत्र छोडेर हाम्रा लागी स्टेडियम र खेलकुद हव बनाउन लाग्नुभएको छ । हामीले पनि हाम्रो तर्फबाट केही गर्न सकिन्छ र गरौं भन्ने हेतुले समिति गठन गरेका हौ’, संयोजक विष्टले भने ।

अभियानका लागि निर्माण समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्राविधिक समितिलगायत अन्य समितिहरु पनि गठन भइसकेको अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले जानकारी दिएका छन् ।

धुर्मुसले भने, ‘खेलकुद समिति गठनले थप उर्जा मिलेको र सम्पुर्ण खेलाडीले अपनत्व ग्रहण गरी अभियानमा सक्रिय भएर लाग्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment