Comments Add Comment

काठमाडौंका नयाँ प्रहरी प्रमुख भन्छन् – टोले गुन्डाको हिसाबकिताब हुन्छ

२६ वैशाख, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुको नेतृत्व सम्हाल्न आइपुगेका नयाँ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले टोले गुण्डाको हिसाबकिताब गर्ने बताएका छन् । परिसरको कमाण्ड सम्हालेपछि अनलाइनखबरसँग कुरा गर्दै उनले अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनु आफ्नो मुख्य उद्देश्य रहेको बताएका हुन् ।

‘गलत बाटोमा लागेकालाई पहिले सम्झाइ बुझाइ गर्ने हो । होइन भने टोले गुन्डाहरुको हिसाबकिताब हुन्छ’, उनले भने, ‘उम्रिदैका तीनपातेहरुविरुद्ध कानुनी कठोरता अपनाइन्छ ।’ यसअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमको संयोजकसमेत रहेका उनले आफ्नो दक्षता उक्त अभियानको क्षेत्रमा पनि प्रयोग गर्ने बताएका छन् ।

सुवेदी भन्छन्, ‘काठमाडौंमा अब नागरिक सहकार्यलाई झनै व्यापक बनाइन्छ । प्रहरी कार्यालयमा नागरिकले छुट्टै किसिमको रेस्पोन्स पाउनेछन् ।’ उनले आफूले प्रहरी कार्यालयमा सेवाग्राहीमैत्री वातावरण सिर्जनाका लागि पहल गर्ने बताए ।

वरिष्ठ उपरीक्षक सुवेदीले परिसरमा अघिल्ला नेतृत्वले ल्याएका कार्यक्रमको कार्यान्वयनलाई पनि जोड दिइने जनाए । ‘मभन्दा अघि आउनु भएकाको कार्यक्रमलाई पनि निरन्तरता दिँदै कानूनको कार्यान्वयनलाई प्रभावकारी बनाउने मेरो प्रयास हुनेछ’, उनले थपे, ‘अहिले सामाजिक विकृतिका कारणले सिर्जित अपराधको दर बढी देखिन्छ । त्यसविरुद्ध जनचेतना जरुरी छ ।’

हाल काठमाडौंको शान्ति सुरक्षा सन्तोषजनक भएको बताउँदै उनले भने, ‘शान्ति, सुरक्षा कहिल्यै सतप्रतिशत हुँदैन । तर, हालको स्थितिलाई नराम्रो भन्न मिल्दैन ।’ उनले सार्वजनिक यातायातमा हुने हिंसाका घटना पनि बढेको बताउँदै ‘सेफ्टी पिन’ अभियानलाई थप प्रभावकारी बनाउने बताए ।

उनले रात्रिकालीन व्यवसाय र सञ्चालकमाथि पनि प्रहरीको नजर रहेको बताए । यसअघि बुधबार एसएसपी वसन्त लामाको विदाइ गरिएपछि उनले कार्यभार सम्हालेका थिए ।

को हुन् सुवेदी ?

११ चैत ०४९ मा प्रहरी सेवा प्रवेश गरेका सुवेदी काठमाडौंमा आउनुअघि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारीमा थिए । प्रहरी प्रमुखको प्रत्यक्ष मातहतमा रहने जिम्मेवारीमा रहेका वेला उनले समुदाय-प्रहरी साझेदारी अभियानको पनि नेतृत्व सम्हाल्ने मौका पाए ।

जसअन्तर्गत अहिले नागरिक-प्रहरीबीच राष्ट्रव्यापी सञ्जाल र अपराध रोकथाममा प्रणालीगत सुधार भइरहेको आईजीपी खनाल स्वयम् बताउँछन् । उनले आफ्नो एक वर्षे उपलब्धी सार्वजनिक गर्दै ७७१ स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यान्वयनका लागि समझदारी भएको बताएका थिए ।

त्यसअघि प्रहरी उपरीक्षक (एसपी) हुँदा उनले धनुषा र सर्लाहीको सफलतापूर्वक नेतृत्व गरेका थिए । ०६९/०७० सालमा उनी काठमाडौं परिसरमै समेत काम गरेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा उनले केरकार (हाल अपराध अनुसन्धान महाशाखा)मा पनि कार्यसम्पादन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment