+

एन्फाका महासचिवलाई मन्त्रीको फोन : महिला खेलाडीले दु:ख पाएको बारे मागे जवाफ

२०८२ कात्तिक  ११ गते २२:३० २०८२ कात्तिक ११ गते २२:३०
एन्फाका महासचिवलाई मन्त्रीको फोन : महिला खेलाडीले दु:ख पाएको बारे मागे जवाफ

११ कात्तिक, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन राम्रो नभएको गुनासो आएको भन्दै नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण लिएका छन् ।

छठ पर्वका लागि धनुषा गएका मन्त्री गुप्ताले एन्फा महासचिव राईलाई टेलिफोन सम्पर्क गरेर भारत यात्राका क्रममा नेपाली महिला फुटबल टोलीको उचित व्यवस्थापन नभएको गुनासो आएको भन्दै स्पष्टीकरण लिएका हुन् ।

मन्त्री गुप्ताले एन्फा महासचिव राईलाई सोधेका छन्, ‘के हो हाम्रो राष्ट्रिय महिला फुटबल खेलाडीको कुरा ?’, जवाफमा राईले नेपाली महिला टोलीले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा जित निकालेको र यसअघि इरानसँग हारेको व्यहोरा बताउँदै २९ अक्टोबरमा सिक्किमसँग खेलेर स्वदेश फर्किने जानकारी गराउँछन् ।

त्यसपछि मन्त्री गुप्ताले भारत यात्राका क्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यलाई खाने, सुत्ने जस्ता आधारभूत व्यवस्थापन समेत राम्रो नभएको गुनासो आएकोबारे जिज्ञासा राख्छन् ।

जवाफमा एन्फा महासचिव राईले मैत्रीपूर्ण खेलका लागि जाँदा भारतीय फुटबल संघले नै खेलाडीको व्यवस्थापनको जिम्मा लिने गरेको बताउँछन् ।

तर, मन्त्री गुप्ता यो जवाफबाट सन्तुष्ट हुँदैनन् र सोध्छन्– ‘तपाईंले के ट्राभललाई जिम्मा दिनु भएको हो ?’ राईले ट्राभललाई जिम्मा नदिएको बताउँदै ईन्डिएन एफए (भारतीय फुटबल संघ)कै जिम्मेवारी भएको बताउँछन् ।

महासचिव राईले यसअघि सिलोङमा सो समस्या भएको बताउँदै अहिले नेपाली टोली सिक्किमतिर जाने बताउँछन् ।

मन्त्री गुप्ता भने भारत यात्रामा गएका खेलाडीको व्यवस्थापनमा पूर्व तयारी नभएको भन्दै एन्फा महासचिव राईसँग यसबारे भेटेरै थप छलफल गर्नुपर्ने भन्छन् । भारतीय फुटबल संघकै जिम्मामा छोड्दा पनि व्यवस्थापनको कार्यविधिबारे एन्फा जानकार हुनुपर्ने मन्त्री गुप्ताको भनाइ छ ।

मन्त्री गुप्ताले सोधेका छन् :

हाम्रो खेलाडीलाई कतै पठाउँदा खेरी त्यसको डिटेल्स स्टडी त हामीसँग राख्नुपर्यो नि । कति घण्टाको इन्टरभलमा ब्रेकफार्स्ट कहाँ गराउँछ, लञ्च कहाँ गराउँछ ? त्यो कार्यविधि हामी नलिइकनै कसरी राष्ट्रिय प्लेयरहरूलाई छोडिराछौं ? त्यो त गर्नु भएन नि । यो विषयमा एकचोटी डिटेल नै बस्नुपर्यो । हाम्रो राष्ट्रिय खेलाडी भइसकेपछि त हाम्रो कर्तव्य बन्छ नि, उहाँहरूको खाना कहाँ हुन्छ, बस्ने कहाँ हुन्छ, ए टू जेड टाइमिङ मिलेपछि, सबै कुरा ल ठीक छ है भनेपछि मात्र पठाउने हो क्या । तर, यो चैं तपाईंलाई त यो कुरा जानकारी नै छैन भन्नुहुन्छ, उतादेखि लिएकै छैन भन्नुहुन्छ, त्यो तपाईंले त जे गर्नुपर्ने कुरा हो त्यो त गर्नु भएन । यस्तै मिस्टेकले त्यहाँ प्लेयरले पनि यो विषयमा अभिव्यक्ति दिइरहेका छन् ।

विगतमा खेलाडीलाई विभिन्न देश पठाउँदा व्यवस्थापनबारे टाइम सेड्युल लिने गरेको वा नगरेकोबारे मन्त्री गुप्ताले जिज्ञासा राखेका थिए ।  तर, एन्फा महासचिव राईले भने उनीहरू (खेल हुने सम्बन्धित देश)ले नै खेलाडीको व्यवस्थापन गर्ने गरेको जवाफ दिन्छन् ।

किरण राई बब्लु गुप्ता हिला फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय