Comments Add Comment

जित्दा मेस्सीले गरेर, हार्दा भालभर्दे ?

२७ वैशाख, काठमाडौं । स्पेनिस ला लिगाको विजेता बार्सिलोना च्याम्पियन्स लिग सेमिफाइनलमा इंग्लिस क्बल लिभरपुलसँग हारेर बाहिरियो । पहिलो लेगमा ३–० अग्रता बनाएको अवस्थाबाट जसरी खेल उल्टियो त्यसमा धेरै चकित बने ।

लिभरपुलको उत्कृष्ट संयोजनमा बार्सिलोना निरिह बन्दै दोस्रो लेगमा ४–० ले खेल गुमाउन पुग्यो । त्यसमा धेरैले प्रशिक्षक एर्नेस्टो भालभर्देको खराब योजना हारको कारण रहेको भन्दै उनको आलोचना गरे ।

यस्तोमा बार्सिलोनाका पूर्व खेलाडीसमेत रहेका रोनाल्डो नाजारियोले भने जितका बेलामा मेस्सीलाई जस दिइने र हारेका बेलामा भालभर्देलाई अपजस दिइने गरिएकोमा असन्तुष्टि व्यक्त गरे । हारमा होस् या जितमा पूरा टिमलाई नै जस अपजस हुनुपर्नेमा भालभर्देसहित खेलाडी फिलिप कोटिन्होलाई दोषी देखाइनु राम्रो आचरण नभएको उनले बताए ।

ला लिगाका उपाधिमा उत्कृष्ट रहे पनि भालभर्देको योजना च्याम्पियन्स लिगमा कमजोर रहेको भन्दै उनको आलोचना भइरहँदा रोनाल्डोले फरक विचार राखेका हुन् ।

गएको सिजन च्याम्पियन्स लिग क्वार्टरफाइनलमा ४–१ ले पहिलो लेग जितेपछि इटालियन क्लब रोमासँग दोस्रो लेग ३–० ले हारेर निराश बनेको बार्सिलोनाको हविगत यो वर्ष पनि उस्तै बनेको हो ।

‘बार्सिलोना उत्कृष्ट टिम हो । उनीहरुसँग विश्वकै उत्कृष्ट लियोनल मेस्सी जस्ता खेलाडी छन् । तर जितेको बेला मेस्सीले गर्दा भनेर सम्मान गर्नेहरुले हारेका बेलामा भने भालभर्देलाई दोष दिनु राम्रो होइन, पूरा टिम नै जिम्मेवार हुनुपर्छ’ उनले भने, ‘प्रशिक्षण टिम र सम्पूर्ण खेलाडीलाई सम्मानको नजरले नहेर्दासम्म यस्तो हविगत भइरहन्छ ।’

स्पेनिस क्लब रियल भायाडोलिडको सेयरहोल्डर समेत रहेका ब्राजिलियन रोनाल्डो आफ्नो समयमा बार्सिलोना र रियल मड्रिडमा उत्कृष्ट खेलाडी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment