३० बैशाख, काठमाडौं । धिरेन्द्रबहादुर शाहले निलम्बन फुकुवापछि मैदानमा पुनरागमन गर्दै गोल गरेपछि सरस्वती युथ क्लबले शहीद स्मारक बी डिभिजन लिगमा वीरगंज युनाइटेडमाथि सानदार जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सरस्वतीले वीरगंज युनाइटेडलाई ३-० ले पराजित गरेको हो ।
मंगलबारै निलम्बन फुकुवा भएका सरस्वतीका फरवार्ड धिरेन्द्र वीरगंज विरुद्धको खेलमा लाइनअफमा थिए । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका हुन् । धिरेन्द्रले ७२औं मिनेटमा गोल गरेपछि सरस्वतीले ३-० को अग्रता बनाएको थियो ।
त्यसअघि ज्ञानेन्द्र जोशीले १८औ मिनेटमा गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । नरेश कुमार खत्रीले ५६औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।
जितपछि सरस्वतीले ११ खेलबाट १५ अंक जोडेको छ र सातौं स्थानमा उक्लेको छ । वीरजंग युनाइटेडको ११ खेलबाट १६ अंक छ ।
धिरेन्द्रको निलम्बन फुकूवा भएपछि नयाँबस्ती विरुद्धको खेलमा खोसिएको ३ अंक समेत फिर्ता पाएको सरस्वती क्लब रेलिगेसन खतराबाट अघि बढेको छ ।
यसअघि सरस्वतीले नयाँबस्ती विरुद्धको खेल १-० ले जितेको थियो । तर धिरेन्द्र शाहको नाम दुई क्लबमा दर्ता भएको दावी गर्दै नयाँबस्तीले उजुरी हालेपछि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितीले नतिजा उल्टाउँदै नयाँबस्तीको पक्षमा ३-० को नतिजा दिएको थियो ।
साथै एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले धिरेन्द्र शाहलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर सो निर्णयविरुद्ध सरस्वती क्लबले एन्फाको अपिल कमिटीमा खपिल गरेपछि यसअघिका निर्णयलाई बदर गर्दै शाहलाई खेल्न बाटो खोल्दै सरस्वतीको खोसिएको ३ अंक समेत फिर्ता भएको हो ।
धिरेन्द्रले लिगको सुरुवाती दुई खेलमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । नयाँबस्तीले उजुरी गरेपछि उनले त्यसपछिका ८ खेल खेल्न पाएनन् । खेल्न नपाउँदा मानसिक रुपमा समेत आफूलाई असर गरेर धिरेन्द्रले बताएका थिए ।
प्रतिक्रिया 4