Comments Add Comment

उपाधिका लागि चेल्सीले आर्सनलसँग खेल्ने

Photo Credit : युरोपा लिग

२७ वैशाख, काठमाडौं । युरोपा लिग फुटबलको उपाधिका लागि फाइनलमा चेल्सी र आर्सलनबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले फ्रान्कफर्टलाई र आर्सनलले भ्यालेन्सिया क्लबलाई पराजित गर्दै युरोपा लिगको फाइनलमा प्रवेश गरेका हुन् ।

फाइनल प्रवेशको दौरानमा चेल्सीले जर्मन क्लब फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । पहिलो लेग र दोस्रो लेगमा गरी दुवै टिमले २–२ गोलको बराबरी खेलपछि पेनाल्टीबाट फाइनल पुग्ने टिमको टुंगो लागेको थियो । चेल्सीले दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको हो । यसअघि भएको पहिलो लेगमा पनि चेल्सीले १–१ गोलको बराबरी नै खेलेको थियो ।

बिहीबार राति भएको दोस्रो लेगमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेलेको थियो । चेल्सीले खेलको २८औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । चेल्सीका लागि लोफ्टस चेकले गोल गरेका थिए ।

पहिलो हाफमा १–० गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा गोल खान पुगेको थियो । खेलको ४९औं मिनेटमा जोभिकले गोल गर्दै फ्रान्कफर्टलाई १–१ गोलको बराबरी दिलाएका थिए । निर्धारित समय र थप गरिएको समयसम्म दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टीमा खेल धकेलिएको थियो । पेनाल्टीमा चेल्सीले फ्रान्कफर्टलाई ४–३ ले हराएको हो ।

आर्सनलको फराकिलो जित

त्यस्तै, अर्को सेमिफाइनलको दोस्रो लेगमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । आर्सनलले समग्रमा ७–३ को फराकिलो जित दर्ता गरेको छ । यसअघि पहिलो लेगमा ३–१ ले आर्सनलले जित हात पारेको थियो ।

आर्सनलको जितमा पियरी एम्रिक अबुमियाङ नायाक बने । उनले ह्याट्रिक गोल गरे । त्यस्तै, लाकाजेट्टीको नाममा एक गोल रह्यो । यता भ्यालेन्सियाका लागि भने दुबै गोल केभिन गेमिरोले गरेका थिए ।

११औं मिनेटमा गेमिरोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर अबुमियाङले १७औै मिनेटमा गोल गरेपछि आर्सनललाई बराबरीमा ल्याएका थिए । त्यस्तै, लाकाजेट्टीले ५० औं मिनेटमा गोल गरेका थिए । तर गेमिरोले ५८ औ मिनेटमा गोल गर्दै फान्कफर्टलाई २–२ गोलको बराबरी दिलाए । अबुमियाङले ६९ औ मिनेटमा व्यक्तिगत दोस्रो र ८८ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दै आर्सनललाई ४–२ गोलको जित दिलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment