Comments Add Comment

प्रचण्डको ‘बिहेभोज’ खाने भन्छन्- प्रतिक्रिया दिन गाह्रो छ

२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले ललितपुरको सुनाकोठीमा विहीबार भव्य समारोहवीच पञ्चैबाजाको धूनमा विवाहको ५० औं वर्षगाँठ मनाए । प्रचण्ड दम्पतीले हरियो दूबोको माला लगाएको र छेऊमा पञ्चैबाजा घन्किएको सुन्दा परम्परागत विवाहकै झल्को आउँथ्यो ।

प्रचण्ड दम्पत्तिको यो ५० औं वर्षगाँठ विशुद्ध पारिवारिक कार्यक्रम मात्रै हो कि सार्वजनिक चासोको कार्यक्रम हो ? यसबारे सामाजिक सञ्जालमा बहस र टीकाटिप्पणी सुरु भइसकेको छ ।

प्रचण्ड र सीता दाहालको पुनर्विवाह हुन लागेको समाचार यसअघि नै केही मिडियामा आइरहेका थिए ।

बिहीबार सामाजिक सञ्जालमा नेकपाका कार्यकर्ताहरुले आफ्ना नेताको तस्वीर राखेर शुभकामना दिइरहेका थिए । त्यतिबेलासम्म यो कार्यक्रम नितान्त पारिवारिक एवं व्यक्तिगत जमघट मात्रै होला भन्ने धेरैलाई लागेको थियो ।

किन गरियो पुनर्विवाह ?

प्रचण्ड र सीता दाहालको विवाहको ५० वर्षगाँठ यसरी मनाइनुको कारण के हो ? यसबारे प्रचण्ड परिवारको आफ्नै बाध्यात्मक तर्क छ ।

विशेष गरी छोरा प्रकाश दाहालको असामयिक निधनपछि आमा सीता दाहाल विक्षिप्त बनेकी छिन् । उनी पुत्र वियोगमा विक्षिप्त मात्रै बनेकी छैनन्, विभिन्न रोगहरुको आक्रमणले निकै नै कमजोर बनेकी छिन् । अमेरिका लगेर उपचार गर्दा पनि उनको शरीर गल्न छाडेको छैन ।

यसरी मानसिक एवं शारीरिकरुपमा थकित बनेकी सीताको मन बहलाउनका लागि यस्तो समारोह गर्नुपरेको पारिवारिक स्रोतको भनाइ छ ।

बिहीबार कार्यक्रममा प्रचण्डले आफ्नी बिरामी पत्नी र परिवारजनको ईच्छाअनुसार यस्तो कार्यक्रम गरिएको सबैलाई जानकारी दिएका थिए ।

प्रचण्ड परिवारको यो तर्कलाई मान्ने हो भने यो समारोहलाई नितान्त व्यक्तिगत र पारिवारिक विषय मान्नुपर्ने हुन्छ । तर, यसलाई व्यक्तिगत र पारिवारिक विषयमात्रै मान्ने पक्षमा सामाजिक सञ्जाल छैन ।

देश हाँक्ने नेताले गर्ने सामाजिक व्यवहार आम जनताका लागि उदाहरणीय एवं पदचाप पछ्याउने किसिमका हुनुपर्छ भन्ने कोणबाट पनि बहस छेडिएका छन् । अझ सर्वहारा वर्गको कम्युनिष्ट नेताले त झनै यसरी विवाहको वर्षगाँठ मनाउनु प्रगतिशील संस्कारभित्र पर्दैन र सामन्ती राजा महाराजाले अवलम्वन गर्ने संस्कारजस्तो देखियो भन्ने प्रतिक्रियाहरु पनि आउन थालेका छन् ।

यसलाई विशेष परिस्थिति भन्नुपर्ला : मणि थापा

प्रचण्ड दम्पत्तिको ‘पुनर्विवाह समारोहमा सहभागी भएर फर्केका संस्कृतिकर्मी एवं नेकपा नेता मणि थापालाई हामीले सोध्यौं- प्रचण्ड र सीताको ५० औं विवाह वर्षगाँठमा सहभागी भएर फर्किँदा कस्तो महसुस भयो ?

थापाको प्रतिक्रिया उनकै शब्दमा-

त्यहाँ अध्यक्ष प्रचण्डले भन्नुभएको कुरा के थियो भने मेरी श्रीमती धेरै बिरामी भइन् । त्यसकारण उनको र परिवारको ईच्छा हो, यो कार्यक्रमको उत्पादनकर्ता म होइन । उनको ईच्छाअनुसार भएको हो ।

अध्यक्षले यो पनि भन्नुभयो कि ५० वर्ष पुगेको उपलक्ष्यमा एउटा कार्यक्रम गर्नुपर्छ है भन्ने पोहोर सालदेखि उनैको ईच्छा थियो ।

अब यस्तो विषयमा कसरी प्रतिक्रिया दिने ? प्रतिक्रिया दिन गाह्रो छ । अध्यक्षको कुराबाट हामी त्यहाँ उपस्थित सबैजना कन्भिन्स भयौं भन्दा हुन्छ । अब यसलाई विशेष परिस्थिति भन्नुपर्ला । विशेष परिस्थितिमा बनाएको कार्यक्रम हो, यसलाई अब के भन्ने ?

सीता दाहालको अवस्था हेर्दाखेरि निकै क्रिटिकल देखिन्छ । त्यसैले केही भन्न सकिने स्थिति देखिँदैन । त्यहाँ सीताको अवस्था कमजोर देखिन्थ्यो । हामी जमघट भएपछि उहाँलाई अलिअलि हौसला भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment