
१६ जेठ, काठमाडौं । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गठबन्धन सरकार बनाउन नसकेपछि निर्वाचन भएको एक महिनामै इजरायलको संसद् भंग भएको छ । अब इजरायलमा आगामी सेप्टेम्बरमा फेरि निर्वाचन हुनेछ ।
इजरायलमा गत अप्रिलमा निर्वाचन भएको थियो । कुल १२० स्थानमध्ये नेतन्याहुको लिकुड पार्टीले ३५ सिट जितेको थियो । तर, सरकार बनाउनका लागि उनलाई पूर्वरक्षामन्त्री एविग्दोर लिबरमनको पार्टीसँग सम्झौता नगरी नहुने भयो ।
गठबन्धन बनाउनका लागि उनलाई बुधबार रातिसम्मको समयसीमा दिइएको थियो । तर, उनले सकेनन् ।
त्यसपछि संसद् भंग गर्ने कि नगर्ने भनेर मतदान गरियो । भंग गर्ने प्रस्तावको पक्षमा ७४ मत र विपक्षमा ४५ मत परेपछि संसद भंग हुने भएको छ । यससँगै नेतन्याहुले पाँचौपटक प्रधानमन्त्रीको पद सम्हाल्ने मौका सम्मुख आएर गुमेको छ ।
यहुदी धर्ममा विश्वास गर्नेहरुलाई अनिवार्य सैन्य सेवामा लाग्ने व्यवस्थाबाट छुट दिनेबारे समीक्षा गर्न संसदमा दर्ता भएको विधेयक यसको मूल कारण मानिएको छ ।
निर्वाचनबाट चुनिएका दलले सरकार बनाउन नसकेर एक महिनामै संसद् भंग भएको घटना इजरायलको इतिहासकै पहिलो हो ।
संसद् भंग भएपछि पत्रकारहरुसँग कुरा गर्दै नेतन्याहुले आगामी चुनावमा आफूले स्पष्ट बहुमत जित्ने गरी तयारी सुरु गर्ने बताए ।
प्रतिक्रिया 4