Comments Add Comment

मन्त्री पण्डितलाई नेकपा सांसदको प्रश्न- लोकसेवाले अटेर गरेको हो त ?

२७ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्मा प्रभाकरले कसैले संविधान मिच्छ भने स्वीकार्य नहुने बताएका छन् ।

स्थानीय तहमा कर्मचारी भर्ना गर्दा समानुपातिक समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था समितिले सोमबार संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग छलफल गरिरहेको छ ।

मन्त्री पण्डितले संविधान अनुसार नै विज्ञापन निकालिएको र समानुपातिक समावेशी मिलाउने काम लोकसेवाको भएको बताएका छन् ।

तर सांसद शर्माले लोकसेवाले अटेर गरेको हो त भनेर प्रति प्रश्न गरे । लोकसेवाले समावेशी नबनाएको हो भने मन्त्रालयले किन नगरेको छ भनेर किन सोधेन भन्दै पूर्वमन्त्री समेत रहेका शर्माले भने, ‘लोकसेवा एक मात्र भरपर्दाे संस्था हो । यसले निश्पक्ष रुपमा काम गरेको छ । त्यसप्रति हाम्रो सम्मान छ । त्यसलाई विवादमा नहालौं, नसिध्याऔं ।’

संविधानमा भएको व्यवस्थाअनुसार लोकसेवाको विज्ञापनमा यसरी समानुपातिक र समावेशी हुन्छ भनेर देखाउन मन्त्रीलाई आग्रह गरे । उनले अघि भने, ‘संविधान मिचेर कसैले गर्छ भने मानिँदैन । जति कराए पनि बोले पनि मानिँदैन ।’

संविधानमा समानुपातिक समावेशी त्यतिकै भनिएको होइन भन्दै उनले भने, ‘कि त संविधान गलत बनायौं भन्नुपर्‍यो । होइन भने संविाधान कार्यान्वयन गर्नुपर्‍यो ।’

मन्त्रालयप्रति प्रश्न उठाउँदै उनले केन्द्रमा आवश्यकता भन्दा बढी कर्मचारी थुपारिएको आरोप लगाए । केन्द्रमा कर्मचारी हामीले बढाएको हो र ? तल हामीले नपठाएको हो र ? समायोजनमा भद्रगोल हामीले बनाएको हो र ?

मन्त्रीलाई सहयोग गर्न आफूहरु तयार रहेको तर, स्थानीय तहमा कर्मचारी भर्ना गर्दा समानुपातिक र समावेशी हुनुपर्ने र ओएनएम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment