
३१ जेठ, काठमाडौं । उपचारका क्रममा विरामीको मृत्यु भएको विषयलाई लिएर आन्दोलनरत पक्षले ओम अस्पतालमा तोडफोड भएको छ ।
डाक्टरको लापरवाहीका कारण रामप्यारी थापाको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शनमा थिए । यही क्रममा शुक्रबार साँझ अस्पतालमा तोडफोड भएको हो । प्रदर्शनकारीले हानेको इँटा लागेर केही सीसा फुटेको छ ।
तोडफोडपछि प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरवितर पारेको छ । प्रहरीको लाठीबाट एक दर्जन घाइते भएको मृतकका आफन्त खड्क श्रेष्ठले जानकारी दिए ।
लाठीले एक जना बच्चा गम्भीर घाइते भएको र उनलाई मेडिकेयर अस्पताल लगिएको श्रेष्ठले बताए । ‘हामीले शान्तिपूर्वक न्याय मागिरहेका थियौं । नचिनेको मानिसले ढुंगा हान्यो । त्यसपछि प्रहरीले लाठी हान्न थाल्यो’ उनले भनेका छन् ।
आन्दोलनपक्ष र अस्पताल प्रशासनबीच वार्ता पनि भएको छ तर, कुनै सहमति भएको छैन । अस्पतालले घटनामा लापरवाही नभएको बताएको छ । तर उपचार खर्च मिनाह गर्ने नर्णय लिएको छ । यस विषयमा मेडिकल डाइरेक्टर डा. केपी देवकोटाले भने, ‘हामी वार्तामा बसेका थियौं । तल झडप भयो । अहिले सबै कुरा बोल्ने अवस्था छैन । ’
गत शुक्रबार सिन्धुपाल्चोककी रामप्यारीको पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । तर उनको आन्द्रो दुलो परेर शरिरभरि संक्रमण फैलिएपछि बिहीबार बिहान मृत्यु भएको थियो ।
प्रतिक्रिया 4