Comments Add Comment

कुमार पौडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

'विप्लव समूहलाई समाप्त पार्ने नीति छैन, घटनाको छानविन गर्छौं'

९ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका छन् ।

पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।

संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गरे । मन्त्री थापाले भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’

यो पनि पढ्नुहोस गृहमन्त्रीलाई जनार्दनको प्रश्न- कुमार पौडेलको हात ६-७ ठाउँमा कसरी भाँचियो ?

विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको भनाइ छ ।

त्यसबारे व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती, निगरानी लगायतका गतिविधि बढाउने क्रममा यही असार ५ गते पौडेल मारिएको थापाले बताए ।

मन्त्री थापाका अनुसार अन्य तीन जना मुठभेडको क्रममा जंगलतर्फ भागेको र त्यसरी फायर हुनेमध्ये एक जनालाई गोली लागेको आशंका गरिएको छ । फरार व्यक्तिहरुको प्रहरीद्वारा खोजीकार्य जारी रहेको उनले जानकारी दिए ।

घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको जानकारी पनि मन्त्री थापाले गराए । साथै बिष्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान पनि बरामद भएको गृहमन्त्रीको भनाइ छ ।

सरकारले पौडेल मुठभेडमा मारिएको बताउँदै आए पनि सत्तारुढ दलकै सांसदहरुले त्यसको सत्यतामा शंका गर्दै आएका छन् । आइतबारको राज्यव्यवस्था समितिको बैठकमा नेकपाका सांसद जनार्दन शर्माले मृतक पौडेलको हात भाँचिएर छियाछिया भएको आफूले सुनेको भन्दै सत्य तथ्य जानकारी गृहमन्त्रीबाट लिनुपर्ने बताएका थिए ।मानव अधिकार आयोगले पनि पौडेलको मृत्युबारे छानविन गरिरहेको जनाएको छ ।

‘विप्लव समूहलाई समाप्त पार्ने नीति छैन, घटनाको छानविन गर्छौं’

कुमार पौडेल

गृहमन्त्री थापाले पौडेल मुठभेडमै मारिएको बताए पनि घटनाको छानविन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । सांसदहरुले छानविनको माग गरेपछि मन्त्री थापाले सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री थापाले भने ‘अहिलेसम्म गृहमन्त्रीले प्राप्त गरेको रिपोर्टअनुसार मुठभेडमै मृत्यु भएको हो । तर, जनताको फिल्ड रिपोर्ट पनि आएको भन्ने सुनेको छु, फोटाहरु पनि आएका छन् । फिल्ड रिपोर्टको पनि आधारमा त्यसबारे सत्य तथ्य छानविन गरिन्छ ।’

विप्लव समूहलाई समाप्त पार्न सरकारको कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । साथै उनले सरकारले वार्ताको प्रयास गरिरहेको तर विप्लव समूहले नमानिरहेको दाबीसमेत गरे । सांसदहरुले देश द्वन्द्वमा जाने खतरा रहेको भन्दै विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने धारणा राखेपछि गृहमन्त्रीले सो भनाइ राखेका हुन् ।

‘राज्यले विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन प्रयास गरिरहेको छ । तर विप्लव समूहले त्यो चाहिरहेको छैन, हामी भने प्रयासरत छौं,’ गृहमन्त्री थापाले भने, ‘वार्ताको पनि प्रयास भइरहेको छ ।’

यो पनि पढ्नुहोस प्रहरी भन्छ- कुमार पौडेल ‘भिडन्त’मा मारिए, विप्लव समूह भन्छ- बाटो ढुकेर हत्या !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment