Comments Add Comment

गृहमन्त्रीलाई जनार्दनको प्रश्न- कुमार पौडेलको हात ६-७ ठाउँमा कसरी भाँचियो ?

जनताको रिपोर्टले मुठभेडमा मारिएको भन्दैन : जनार्दन शर्मा

९ असार, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका छन् । प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नभन्ने उनको भनाइ छ ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसद शर्माले भने, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन ।’

गोली लागेर मारिएको व्यक्तिको हात ६-७ ठाउँमा भाँचिएको पाइएकाले विश्वस्त हुन नसकिने उनको भनाइ छ । उनले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए । विप्लव समूहलाई प्रतिवन्ध लगाउनसमेत आवश्यक नरहेको पूर्वगृहमन्त्री शर्माले बताए ।

द्वन्द्व सिर्जना हुन सक्ने देखिइसकेपछि त्यसलाई कसरी रोक्ने भन्ने चिन्ता राज्यले लिनुपर्नेमा त्यसो नगरी अगाडि बढे विद्रोही पक्ष (विप्लव समूह) कै पक्षमा जनसमर्थन बढ्दै जाने नेता शर्माको चेतावनी छ

सोमबारको बैठकमा गृहमन्त्री थापाले पौडेलको मृत्यु प्रहरीको जवाफी कारबाहीमा भएको जवाफ दिएका छन् । गस्तीमा रहेको प्रहरी टोलीलाई पौडलसहितको समूहले फायर गरेकाले प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा पौडेलको मृत्यु भएको गृहमन्त्रीको भनाइ छ ।

यो पनि पढ्नुहोस कुमार पौडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

विप्लव समूहकै पक्षमा जनसमर्थन बढ्दै जाने चेतावनी

विप्लव समूहलाई प्रतिबन्ध लगाउन आवश्यक नरहेको पनि उनले बताए । पूर्वगृहमन्त्री एवं सत्तारुढ नेकपाका सांसद शर्माले गृहमन्त्री थापालाई प्रश्न गर्दै भने, ‘मेरो बिचारमा थिएन भन्ने हो ।’

हतियार बोकेपछि पक्राउ गर्ने अधिकार संविधानले नै दिएको उल्लेख गर्दै उनले भने, ‘खैर त्यो (प्रतिबन्ध) लाग्यो ।’ उनले यसै घटनालाई जोडेर सरकार संविधानअनुसार अगाडि नबढेको आरोप पनि लगाए । ‘संविधान हामीसँग छ । संविधान उल्लंघन गर्ने, हतियार बोक्नेलाई कारबाही गर्ने संवैधानिक प्रक्रिया छ, तर हामीले त्यसो गरिरहेका छैनौं । यसमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु ।’

द्वन्द्व सिर्जना हुन सक्ने देखिइसकेपछि त्यसलाई कसरी रोक्ने भन्ने चिन्ता राज्यले लिनुपर्नेमा त्यसो नगरी अगाडि बढे विद्रोही पक्ष (विप्लव समूह) कै पक्षमा जनसमर्थन बढ्दै जाने नेता शर्माको चेतावनी छ ।

‘हिजो हामी लडाईंमा हुँदा यस्ता (कुमार पौडेलको मृत्यु) खालका घटना प्रहरीले नघटाइदिएको जनसमर्थन हामीले भने जस्तो हुँदैनथ्यो कि ! त्यतिबेलाको अनुभव म भन्दैछु’, शर्मा अगाडि थप्छन्, ‘सरकार जनसमर्थन आफ्नो पक्षमा लिन तयार हुनुपर्यो ? मुठभेडलाई बढाउने प्रयत्न गर्ने होइन । उहाँ -विप्लव)हरुलाई चाहिएकै त्यही छ । उहाँहरुलाई चाहिएको हामीले गरिदिने कि हामीले हामीलाई चाहिएको गर्ने ?’

कुमार पौडलको निधनपछि आफूले जनयुद्धकालमा भएको धनमायाको हत्या, लली रोकाको हत्यालाई सम्भिmएको उनले सुनाए । ‘धनमायाको हत्या सम्भिmएँ, लली रोकालाई सम्भिmएँ, त्यतिबेला बिभिन्न अपरेशनका नाममा मारिएको थियो’, शर्मा भन्छन्, ‘फेरि हामी त्यही प्रवृत्ति दोहोर्याउन चाहन्छौं ? त्यो किमार्थ हुन सक्दैन । त्यो मान्य हुँदैन ।’

सांसद शर्माले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए । ‘सरकारको मुख्य प्राथमिकता संविधान कार्यान्वयन हो । संविधानअनुसार नियम/कानुन बनाउँदा जनता र सरोकारवालाहरुको पनि सहभागिता खोज्नुपर्छ भन्ने गुठी विधेयक फिर्ता भएको घटनाले देखाएको छ,’ उनले भने ।

संविधानको कार्यान्वयन सही ढंगले नभएको अवस्थामा त्यहीँबाट द्वन्द्व सिर्जना हुन सक्नेतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ छ । प्राप्त उपलब्धीको रक्षा गर्नु सरकार र सबै राजनीतिक दलहरुको दायीत्व भएको उल्लेख गर्दै उनले प्राप्त उपलब्धीविरुद्ध चलखेल गर्नेहरु पनि सलबलाइरहेको बताए ।

शर्माले भने, ‘गुठी विधेयकको विरोधमा भएको प्रदर्शनमा सहभागि हुन कहाँ-कहाँबाट को-को आएका थिए भन्ने यहाँहरुलाई थाहा छँदैछ । यो अवस्थामा संयमता अपनाउने हो कि द्वन्द्व ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment