Comments Add Comment

माननीयज्यू ! कुमार पौडेलको विगत हेरौं : आइजीपी खनाल

'आफन्तले बुझेर सदगत गरिसके, यदाकदा यस्ता घटना हुन्छन्'

९ असार, काठमाडौं । सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका जिल्ला नेता कुमार पौडेलको विगत कस्तो थियो भनेर हेर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आग्रह गरेका छन् ।

विप्लव समूहमाथि प्रतिवन्ध लागेपछि प्रहरीले हातहतियारसहित पक्राउ गरेका घटना धेरै भएता पनि दुईवटा घटनामा मात्रै प्रश्न उठेको खनालले बताए ।

सर्लाहीमा प्रहरीको गोली प्रहारबाट मारिएका पौडेलको विषयमा जवाफ दिन सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका आएजीपी खनालले यसबारे गृहमन्त्री रामहादुर थापा (बादल)को भनाइमा आफ्नो समर्थन रहेको बताए ।

यो पनि पढ्नुहोस कुमार पौडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

मृतक पौडेल सज्जन व्यक्ति थिए कि कस्ता थिए भन्नेबारे आफैं परिभाषा गर्न सांसदहरुलाई आग्रह गर्दै आइजीपी खनालले मृतकको विगत कस्तो थियो भनेर हेर्न सुझाए । साथै खनालले पौडेलमाथि लागेका विभिन्न अभियोगहरुको फेहरिस्थसमेत प्रस्तुत गर्दै उनीमाथिको प्रहरी कारवाही उचित रहेको स्पष्टीकरण दिए ।

संसदीय समितिमा आइजीपी खनालले दिएको करिब ९ मिनेटको जवाफको सम्पादित अंश :

माननीयज्यूहरुले उठाउनुभएका धेरै कुराहरुमा माननीय गृहमन्त्रीज्यूबाट प्रष्ट भइसकेको छ । त्यसमै नदोहोर्‍याइकन राख्छु । उनी सज्जन र के भन्ने कुराहरु त आए, यसको परिभाषा त आफैंले निकाल्ने हो । सज्जन हो हैन भन्ने कुरामा म जान्न । खाली उहाँ गतिविधि राख्न चाहन्छु ।

– ०७२ सालका सर्लाही जिल्लाको सागरनाथ र परवानीपुर सामुदायिक वनबाट बाटो मासी अबैधरुपमा काठ बेचबिखन गरेको अभियोगमा जिल्ला वन कार्यालयमा मुद्दा चलेको । सागरनाथ वन विकास परियोजनाको नाममा सर्लाहीमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बस्ने व्यक्तिहरुको नेतृत्व गर्दै आएको ।

– विशेषतः सिन्धुली र सर्लाहीमा बसोबास गर्ने केही व्यक्तिहरुलाई उक्त सार्वजनिक जग्गा अतिक्रमण गर्न उक्साउने, प्रेरित गर्ने र उक्त स्थानमा ल्याई बसोबास गराउने । अतिक्रमित जग्गाको लालपूर्जा वितरण गराइदिन्छु भनी झूठो आश्वासन दिई सम्बन्धित व्यक्तिहरुबाट आर्थिक लाभ लिनुका साथै अराजक गतिविधिहरु सञ्चालन गर्न समर्थन र सहयोग गर्दै आएको ।

यो पनि पढ्नुहोस गृहमन्त्रीलाई जनार्दनको प्रश्न- कुमार पौडेलको हात ६-७ ठाउँमा कसरी भाँचियो ?

– विप्लव समूहमा प्रवेश गरेपश्चात अर्धभूमिगत बनेर र उक्त समूह प्रतिवन्धित भएपश्चात पूर्णभूमिगत रुपमा पछिल्ला महिनाहरुमा जबरजस्ती चन्दा संकलन गरी व्यापारी, व्यवसायी जनप्रतिनिधि र सर्वसाधारण जनतालाई आर्थिक शोषण गर्ने र आतंकित बनाउने कार्यलाई तीव्रता दिएको ।

– धेरै मोबाइल सिमहरु प्रयोग गर्ने र फरक-फरक सीमबाट फोन गरी चन्दाका लागि दबाव दिने । चन्दा नदिए भौतिक कारवाही गर्ने, मार्नेसम्मको धम्की दिने । चन्दा नदिएसम्म पटक-पटक, फरक स्थानबाट फोनबाट धम्की दिइरहने । चन्दाको रकम संकलन गरी बुझाउन अन्य व्यक्तिहरुको प्रयोग गर्ने ।

-जनप्रतिनिधिहरु, विशेष गरी गाउँपालिकाका र नगरपालिकाका मेयर, वडाध्यक्षहरुसँग कम्तिमा १० लाख रुपैयाँ चन्दा नदिएमा भौतिक कारवाही गर्ने चेतावनी दिएको । जनप्रतिनिधिहरुलाई चन्दा नदिएका कारण वा तोकेभन्दा कम दिएको कारण सफाया गर्ने विज्ञप्ति जारी गर्ने र सामाजिक सञ्जालमार्फत् चेतावनी दिने गरेको ।

-समाजमा आतंक सिर्जना गर्ने, आफ्नो उपस्थिति देखाउन चन्दा दिन बाध्य पार्ने, विभिन्न स्थानहरुमा बम विस्फोट गराउने, नगरपालिका र अन्य सार्वजनिक स्थानमा शक्तिशाली बम प्लान्ट गर्ने कार्यमा समेत निज सक्रिय रहेको ।

कुमार पौडेल विरुद्ध जिल्ला प्रहरी कार्यालय र मातहतमा परेको मुद्दाहरु यहाँहरुसमक्ष राख्न चाहन्छु ।

-मिति ०७३/४/७ गते राति अञ्दाजी १ः४५ बजेको समयमा जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नम्बर १० स्थित जाहेरवालाको लु २ त ६६१९ नम्बरको ट्याक्टरमा कुमार पौडेलसमेतले आगो लगाएको ।

-विस्फोटक पदार्थ तथा संगठित अपराधमा मिति २०७४/२/११ गते बिहान अञ्दाजी ७ः२० बजेको समयमा जिल्ला सर्लाही वागमती नगरपालिका वडा नं ३ स्थित सारनाथ वन विकास परियोजनाको कम्पाउण्ड नजिक प्रतिवादी कुमार पौडेलसमेत पाइप बम राखेको अवस्थामा बम फेला परेको छ ।

-विस्फोटक पदार्थमा २०७४/१२ /१७ गते अञ्दाजी १२ बजेको समयमा जिल्ला सर्लाही सो नगरपालिका वडा नम्बर ४ मा रहेको सागरनाथ वन विकास परियोजनामा प्रतिवादी कुमार पौडेल समेतले कुकर बम विस्फोट गराई भवनमा क्षती पुर्‍याएको ।

यो पनि पढ्नुहोस कुमार पौडेल मृत्यु प्रकरण : एक साताभित्र छानविन प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन

– २०७५/३/२९ गते अञ्दाजी बिहान ८ः३० बजेको समयमा जिल्ला सर्लाही, वागमती नगरपालिका वडा नम्बर १० मा परियोजनाको अतिक्रमण ६ सय क्षेत्रफलमा वृक्षारोपण कार्य सञ्चालन गर्दा उक्त वृक्षारोपण कार्य विफल बनाउन जनमानसमा डर त्रास फैलाउने उद्देश्यले सोही स्थानमा प्रतिवादी कुमार पौडेल समेतले प्रेसर कुकर बम पड्काएको ।

– २०७५/१२/२६ गते राति अञ्दाजी ४ बजेको समयमा जिल्ला सर्लाही हरिवनपुर नगरपालिका वडानम्बर ८ स्थित एनसेलको टावरमा कुमार पौडेलसमेतले आगो लगाएको ।

– २०७६/१/२३ गते विहान रातिको समयमा जिल्ला सर्लाही वागमती नगरपालिका वडा नम्बर ४ स्थित वागमती खोलाको किनारमा सविन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेको बा १ क ७८४७ नम्बरको स्काभेटरमा प्रतिवादी कुमार पौडेल समेतले आगो लगाई जलाई क्षति पुर्‍याएको ।

माननीय सभापतिज्यू, माननीय गृहमन्त्रीज्यूले भनेका कुराहरु बाहेक म केही छुटपुट र विगतका क्रियाकलापहरु राख्छु ।

यो दुई/तीन महिनादेखि त्यहाँ जनमानस अति नै आतंकित भएको थियो । प्रहरी प्रशासनले के हेर्दैछ भन्ने सन्दर्भमा हामीले क्रियाशीलता लगाएकै थियौं । यही सन्दर्भमा भएका कुराहरु हो ।

अब यसमा माननीय सदस्यज्यूहरुलाई के स्मरण गराउन चाहन्छु भने हामीले यस्तो परिस्थिति नआइकन अथवा यस्तो परिस्थिति उत्पन्न नभइकन यस्ता घटना भएका छैनन् । यो कुरा माननीय सदस्यज्यूहरुलाई निवदेन गर्न चाहें ।

जस्तो- हामीसँग धेरै छन् । हामीले समातेका छौं । सुनसरीमा हतियार समातेका छौं । एलएमजी, एम-१६, अमेरिकन एक नाल राइफल समात्या छ । तर, त्यहाँ भिडन्तको स्थिति भएन । भाग्दै जाने क्रममा नै ट्राफिक प्रहरी समेत भागाभाग दौडादौड गरेर समातेको अवस्था छ । जहाँ कि यस्तो हतियारहरुसमेत बरामद भएको छ ।

यो पनि पढ्नुहोस प्रहरी भन्छ- कुमार पौडेल ‘भिडन्त’मा मारिए, विप्लव समूह भन्छ- बाटो ढुकेर हत्या !

यो इन्टेन्सनले गर्ने कुराहरु होइन माननीय सदस्यज्यूहरु । त्यहाँ चाहिँ समात्दाखेरि केही भएको भए जवाफी कुरा आउँछ । स्थिति अर्कै आउन सक्थ्यो तर त्यसलाई नियन्त्रण गरियो, दौडादौड अवस्थामा पनि छ । संखुवासभामा त्यसरी नै हतियार बरामद भएको छ । पेस्तोलसहित पक्राउ परेको छ ।

यसमा मैले खाली के हो भने पक्राउ परेका धेरै घटना छन्, जहाँ हतियारसहित उहाँहरुले अगाडि बढाएको विध्वंशात्मक क्रियाकलापहरु अगाडि बढाएको अवस्था छ । यो लगायत संखुवाभामा नै अर्को भएको छ, जुन ठाउँमा सुरेन्द्र राई समेतबाट थ्रीनटथ्री राइफलसमेत बरामद भएको अवस्थाहरु छ । त्यसमा १४ गोली, कसैमा २५ गोलीसमेत भएको छ ।

यहाँ मैले यो कुरा राख्नुको अर्थ के हो भने हामीले अहिले चलाएको अथवा गरिरहेको क्रियाकलापमा धेरै विध्वंशमा लाग्नेहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्छ, जुन कानुनसम्मत गर्नुपर्छ भन्ने नै हो ।

त्यसमा प्रतिबन्धित भएको अवस्थामा पनि ६४० जनालाई पक्राऊ र नियन्त्रणमा लेराएर कानूनी दायरामा ल्याएको अवस्था छ । तर, यदाकदा घटनाहरु यसरी आइदिन्छन्, जहाँ स्थितिले दबावपूर्ण अवस्था आउँदाखेरि प्रतिरोध र प्रतिकारको अवस्था सिर्जना हुन्छ । त्यसमा पनि अहिले भन्नुपर्दा जम्मा दुईवटा घटनाको मात्र, विशेषतः आजको सम्मानित सदनमा एउटै घटनाको विषय जुन आयो, यसमा त्यो कारणले नै उब्जाएको हो ।

यसमा अर्को, संखुवासभाका हामीले हतियार बरामद गरिराखेका छौं । यो सबै घटनामा प्रहरी प्रशासन यो अवस्था हो त ? भन्दा होइन । माननीय सदस्यज्यूहरुलाई मैले राख्न चाहेको । संखुवासभामा धेरै नै छ…. ।

(वीचैमा सभापति शशी श्रेष्ठको रुलिङ- सर्लाहीमै केन्द्रित हौं न । सर्लाहीमै केन्द्रित हौं ।)

सर्लाहीको विषयमा मैले अघि भनें । यी घटनामा पनि माननीय मन्त्रीज्यूबाट जुन कुराहरु आएका छन्, त्यसैमा समर्थन गर्दै विशेष छुट भएका विषयहरु चाहिँ मैले यहाँहरु समक्ष निवेदन गरें ।

र, जुन शंकास्पदरुपमा एउटा अर्कोलाई पनि गोली लागेको भन्ने कुरालाई चाहिँ सर्च गरिया छ । हस्पिटलहरुमा पनि गएर सर्च गरिया छ । यो कुराहरु उहाँका आफन्तजनले पनि सबै बुझेर सदगत गरिसकेको अवस्था हो भन्दै मेरो आफ्ना कुराहरु प्रस्तुत गरें । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment