१० असार, काठमाडौं । पर्यटकका उजुरी सुन्ने तथा अत्यावश्यक सूचना प्रवाह गर्ने उद्देश्यले पर्यटक प्रहरीले छुट्टै मोवाइल एप सञ्चालनको तयारी गरेको छ । एक साताभित्रै एप सञ्चालन गर्न लागिएको प्रहरी निरीक्षक तथा पर्यटक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।
‘हामी नेपालमा पर्यटकले के गर्नु हुन्छ र हुँदैन भन्ने सूचना, कानूनी विषयलगायत अत्यावश्यक जानकारी एपमा राख्दैछौं,’ उनले भने, ‘पर्यटकले आफु जुन स्थानमा छ, त्यहीँबाट प्रहरीमा उजुरी समेत गर्न सक्नेछन् ।’ एपका माध्यमबाट उजुरीको तथ्यांक संकलन तथा त्यसमा भएको कार्यप्रगति पत्ता लगाउन समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
ठमेलमा सूचना केन्द्र
यसैबीच, पर्यटक प्रहरीले हालै ठमेलमा महानगरीय पर्यटक प्रहरी सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । पर्यटकले हराउने सामानमध्ये अधिकांश ठमेल क्षेत्रमा हराउने गरेको गुनासो बढी आएको छ । प्रहरी निरीक्षक बस्नेतका अनुसार ठमेलमा हराएको सामानको उजुरी टिपाउन भृकुटीमण्डप आइरहनुको साटो ठमेलमै सेवा दिन सकियोस् भन्ने उद्देश्य सूचना केन्द्र सञ्चालन गर्न लागिएको हो ।
पर्यटक प्रहरीलाई पर्यटकका धेरै गुनासा ठमेलबाट आउने गरेका छन् । ठगी, चोरी था सामान हराउने समस्यामध्ये ८० प्रतिशत घटना ठमेलबाट आउने प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए । त्यसो त ठमेल पर्यटकको बढी चहलपहल हुने क्षेत्र पनि हो ।
विश्वमा नेपालको पहिचान दिलाउने सिमित गन्तब्यमध्ये ठमेल एक हो । पर्यटक प्रहरीका अनुसार होटेलमा बसेको बेलाभन्दा यात्राका दौरान पर्यटकले बढी सामान हराउने गर्छन् । ट्याक्सीमै सामान छाड्दा, खाजा खान जाँदा रेष्टुरेन्टमै सामान छाडेर हिँड्दा पर्यटकका सामान हराउने गर्छन् ।
उपत्यकाभित्र हराउने सामानको भेटिने सम्भावना अधिक रहने उनले बताए । पर्यटकीय क्षेत्र र मूख्यमूख्य चोकमा सीसीटिभी क्यामरा जडान गरिएका कारण हराएका सामग्री भेटिने सम्भावना धेरै हुने पर्यटक प्रहरीको भनाइ छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4