Comments Add Comment

पर्सामा गर्मीले दुई विद्यार्थी बेहोस

१० असार, वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा मंगलबार दुई विद्यार्थी बेहोस भएका छन् ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको नेपाल राष्ट्रिय आधारभुत विद्यालय र नेपाल राष्ट्रिय मावि निचुटामा अध्ययनरत विद्यार्थी मंगलबार विहान बेहोस भएका हुन् ।

उनीहरुलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि घर पठाइएको छ । अत्याधिक गर्मीका कारण बालबालिकालाई विद्यालयको कक्षा कोठामा बसेर अध्ययन गर्न कठिन भएपछि टिफिन पछि दुवै विद्यालय बन्द गरिएको छ ।

गर्मीको कारण बालबालिका बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको निचुटा माविका प्रधानाध्यापक श्याम घिमिरेले जानकारी दिए । ‘अत्याधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्न थालेपछि टिफिन पछि आज विद्यालय बन्द गरिदिएका हौं । भोलि बिहान गाउँपालिका स्तरीय प्रधानाध्यापकको बैठक बिहान राखिएको छ’ उनले भने ।

२४ वटा सामुदायिक विद्यालय रहेको पटेर्वासुगौली गाउँपालिकामा गर्मी कै कारण ५ दिन विदा गरेर आइतबारदेखि पठनपाठन सुचारु गरिएको थियो ।

गर्मी नघटेपछि वीरगञ्ज महानगरपालिकाले थप तीन दिन विद्यालय बन्द गर्ने भएको छ । वीरगञ्ज महानगरपालिका अन्र्तगत सञ्चालित विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफल तथा नगर शिक्षक माहासंघको राय सुझाव अनुसार विदा थप गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विज्ञप्ती जारी गर्दै गर्मीको प्रतिकुल मौसमलाई ध्यानमा राखेर वीरगञ्जका सामुदायिक तथा नीजि विद्यालय असार ११ गतेदेखि १३ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

वर्षे विदाबाट कट्टा हुनेगरी यसअघि पनि महानगरपालिकाको शिक्षा महाशाखाले असार १ गतेदेखि ७ गतेसम्म विद्यालय बन्द गरेको थियो । कतिपय सामुदायिक विद्यालयमा पंखासमेत नहुने हुँदा विद्यार्थीहरुलाई गर्मीमा निकै सास्ती हुने गरेको छ ।

वीरगञ्जको रानीघाटस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा रहेको अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउतले केन्द्रले यस सातामा सबैभन्दा बढी ४२ डिग्री तापक्रम मापन गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment