Comments Add Comment

इंग्ल्यान्डलाई अष्ट्रेलियाले दियो २८६ रनको लक्ष्य

१० असार, काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई अष्ट्रेलियाले २८६ रनको मध्यम लक्ष्य दिएको छ ।

लन्डनस्थित लडर््समा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८५ रन बनाएपछि इंग्ल्यान्डले मध्यम लक्ष्य पाएको हो । अष्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले शतक बनाए ।

उनले ११५ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै शतक पूरा गरे । तर लगतैको बलमा भने उनी आउट हुन पुगे । उनले जारी विश्वकपमा यो सहित दुई शतक बनाएका छन् भने तीन अर्धशतक पूरा गरेका छन् । यसअघि उनले श्रीलंकाविरुद्ध १५३ रन बनाउँदै शतक पूरा गरेका थिए ।

कप्तान फिन्चले शतक बनाउँदा अर्का ओपनर डेभिड वार्नरले पनि अर्धशतक बनाए । उनले ५३ रन बनाएका थिए । तर अष्ट्रेलियाको मध्यक्रमका ब्याट्सम्यान चल्न सकेनन् । स्टेभन स्मिथ ३८ रनमा आउट हुदा अर्का खेलाडी एलेक्स क्यारी ३८ रनमा अविजित रहे । यता, उस्मान खवाजा २३ र ग्लेन म्याक्सवेल १२ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि पहिलो विकेटको रुपमा कप्तान फिन्च र वार्नरले १२३ रनको साझेदारी गर्दैै टिमलाई बलियो स्थितिमा ल्याएका थिए । तर मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा ठूलो स्कोर बनाउन सकेन ।

बलिङतर्फ भने क्रिस वोक्सले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment