Comments Add Comment

छापामा आज : केन्याको बारमा नेपाली चेलीको चित्कार

Photo Credit : NATION MEDIA GROUP ।गत अप्रिल १३ मा केन्याको प्रहरीले न्यालीस्थित डान्सबारबाट पक्राउ परेका नेपाली चेलीहरू ।

१३ असार, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा एसईई नतिजा परेको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको परीक्षाफलमाथि आजका दैनिक पत्रिकाहरुले आलोचनात्मक नजर लगाएका छन् ।

कान्तिपुरले ‘सामुदायिक अझै कमजोर’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश २ सबैभन्दा कमजोर देखिएको छ भने अन्य प्रदेशको तुलनामा संघीय राजधानीसमेत रहेको प्रदेश ३ सबैभन्दा अगाडि देखिएको छ ।

मुलुकभरको नतिजा हेर्दा ग्रेडिङ पद्धति सुरु भएपछि यसपटक एसईईको समग्र नतिजा प्रतिशत उच्च देखिएको कान्तिपुरले लेखेको छ । तर, नयाँ पत्रिकाले एसईईको नतिजा पहिलेजस्तै रहेको लेखेको छ । नागरिकको पनि नयाँ पत्रिकाको जस्तै ठम्याइ छ । नागरिकका अनुसार सरकारी शिक्षाको स्तरमा खासै सुधारको गुञ्जायस यसपटक पनि देखिएको छैन । अन्नपूर्णले एसईई नतिजाको कभरेज गर्दै १०६ जनाको जीपीए ४ आएको जनाएको छ ।

केन्याको बारमा नेपाली चेलीको चित्कार
अन्नपूर्ण पोस्ट दैनिकले ‘केन्याको बारमा चेलीको चित्कार’ शीर्षक दिएर केन्या पुर्याइएका नेपाली चेलीबारे खोजखबर गरेको छ । केन्याको लोकप्रिय दैनिक नेसनको एक रिपोर्टलाई जोडेर अन्नपूर्णले सामग्री तयार पारेको हो । नेशनले गत शनिबारीय अंकको पहिलो पृष्ठमा ‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन्’ शीर्षक दिएर मुख्य समाचार बनाएको थियो ।जसमा ४ नेपाली चेलीको मार्मिक पीडा समेटिएको छ ।

केन्यामा नेपाली युवती तस्करी गर्ने क्रम पछिल्लो समय बढेको छ । केन्याको न्यालीस्थित न्यु रंगिला बारमा राति नाचिरहेका अवस्थामा प्रहरीले हालै छापा मारेर १२ नेपाली युवतीलाई नियन्त्रणमा लिएको थियो । त्यसका सञ्चालक असिफ अमिराली अलिभाइ जेथालाई पनि गिरफ्तार गरी मुद्दा चलाइएको छ ।

अन्नपूर्णले गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापालाई कोट गर्दै एक दशकभन्दा लामो समयदेखि नेपालबाट युवतीलाई लगी अवैध क्लबमा नचाउने गिरोह सक्रिय रहेको समाचारमा लेखिएकाे छ । केन्यामा अवैध रुपमा पुर्याइएका नेपाली चेलीको संख्या कति छ भन्नेबारे भने समाचारमा केही उल्लेख छैन ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment