Comments Add Comment

‘धर्तीमाता’लाई ७ दिन थुनामा राख्न अनुमति

पीडित सम्पर्कमा नआउँदा फितलो कारवाही

१५ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’ बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ ।

शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको छ ।

उनले असार पहिलो साता नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा धर्ती माता बताउँदै युवतीलाई यातना दिएकी थिइन् । सामाजिक सञ्जालमा उनले गालीगलौज गर्दै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरी प्रशासनले चासो देखाएको थियो ।

यो पनि पढ्नुहोस भद्रकालीमा युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

पीडित सम्पर्कमा नआउँदा फितलो कारवाही

काठमाडौं प्रहरीको मुद्दा शाखाका एक अनुसन्धान अधिकृतका अनुसार पीडितले किटानी जाहेरी दिएको भए मुलुकी अपराध संहितामा भएको व्यवस्था बोक्सी आरोपमा अपमानजन्य व्यवहार गरेको कसुरमा मुद्दा चल्न सक्थ्यो । जुन अभियोग प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्ति तिर्नुपर्ने हुनसक्थ्यो ।

तर, भिडियोमा देखिएकी पीडित महिला नभेटिएपछि प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको हो । अभद्र व्यवहारको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

कुँवरले सार्वजनिक स्थानमा युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’, ‘तेरो मासु खाम्ला, मलाई चिन्’ जस्ता शब्दको प्रयोग गरेर गाली गर्दै कुटपिट गरेकी थिइन् । यो पनि पढ्नुहोस ‘धर्ती माता’ लाई प्रहरीले बोलायो, उजुरी दिन पीडितलाई आग्रह

कुँवरले स्वीकारिन् गल्ती

प्रहरीसँग बयान दिने क्रममा कुँवरले कुटपिट गर्नु गल्ती भएको स्वीकारेकी छन् । तर, आफूमा शक्ति भएको विषयचाहिँ बताउन छाडेकी छैनन् ।

उनले भनेकी छन्, ‘मलाई साढे २ वर्षदेखि नै देउता चढ्न थालेको हो । ममा शक्ति आएपछि के गर्छु, थाहै हुँदैन ।’ प्रहरीले पक्राउ गरेर आफूलाई दुःख दिएको समेत उनले दाबी गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment