Comments Add Comment

लोकसेवाको विज्ञापनमा साढे ४ लाखले दिए आवेदन

१८ असार, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् । ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनमा माग गरेको पद भन्दा ४८ गुणा बढी आवेदन परेको हो ।

आवेदन दिनेमा १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० जना आदिवासी जनजाति, २४ हजार ९० जना मधेसी, ३ हजार ९१ जना दलित, १ सय ४६ जना अपांग र १ सय १६ जना पिछडिएका क्षेत्रका आवेदनकर्ता रहेका आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार आयोगले विज्ञापन आवेदनबाट १४ करोड, ४ लाख ११ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ । लोक सेवा आयोगको उक्त विज्ञापनमा असार १० गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । दोब्बर दस्तुर तिरेर पनि आवेद गर्ने मिति मंगलबार राति १२ बजे सकिएको थियो ।

आयोगको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था समितिले विज्ञापन रोक्न निर्देशन नै दिएको छ । यद्यपी आयोगले विज्ञापन रोकेको छैन । विभिन्न संघ संस्थाले विज्ञापनको विरोधमा सार्वजनिक प्रदर्शनसमेत गरेका छन् । सर्वोच्च अदालतमा समेत विज्ञापनविरुद्ध रीट परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment