Comments Add Comment

हुवावेको नयाँ अपरेटिङ सिस्टम, युरोपेली युनियनमा दर्ताको निवेदन

काठमाडौं । चिनियाँ दिग्गज कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ । हुवावेले नयाँ अपरेटिङ सिस्टमको हार्मोनी नामक ब्राण्डलाई दर्ताको निवेदन दिएको हो ।

हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग हुनेछ । हुवावेले जुलाई १२ मा दिएको निवेदनमाथि इयूको बौद्धिक सम्पत्ति अधिकार कार्यालयमा आवश्यक कार्यवाही चलिरहेको बताइएको छ ।

हुवावेका अनुसार आफ्नो स्मार्टफोनका लागि एन्ड्रोइड अपरेटिङ सिस्टम सबैभन्दा पहिलो रोजाइको रुपमा रहेको छ । तथापि पछिल्लो समय अमेरिकासँगको व्यापार युद्ध तथा गुगलको सम्बन्ध विच्छेदपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम हंगमेंगको विकास गर्ने बताएको थियो । यद्यपि पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्धमा सुधार आएपश्चात् हुवावेको संकट केही कम हुँदै गएको छ ।

तथापि हुवावेले हार्मोनीको ब्राण्डनेमबाट इयूमा अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ता गर्ने प्रयास गरेबाट कम्पनीको अपरेटिङ सिस्टमको नामका बारेमा अन्योल भएको छ ।

कम्पनीका अध्यक्ष लियांग हुआले होंगमेंगलाई स्मार्टफोन अपरेटिङ सिस्टमका रुपमा विकास गर्ने बारेमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment