Comments Add Comment

नुवाकोटको वडा कार्यालयमा बम विस्फोट, रौतहटमा आगजनी

Photo Credit : अज्ञात समूहको बम विस्फोटबाट क्षतिग्रस्त नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालय । तस्वीर सौजन्यः रामहरि न्यौपाने

१५ साउन, काठमाडौं । नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।

ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् ।

बम विस्फोटबाट क्षतिग्रस्त बनेको नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालय । तस्वीर सौजन्यः सीता खतिवडा लामा ।

बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसैगरी, विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।

नुवाकोटमा जस्तै रौतहटमा पनि आगजनी गर्ने पक्षले अहिलेसम्म जिम्मा लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment