Comments Add Comment

विद्यालयका कार्यालय सहयोगी मृत फेला

२८ साउन, गोरखा । गोरखा नगरपालिका-१० टक्सारस्थित मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे मृत फेला परेका छन् । विद्यालय परिसर नजिकैको कुवाडी सामुदायिक वनमा मंगलबार बिहान उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

‘बिद्यालयबाट बेलुकी आठ बजे सधैं घर जान्थे, हिँजो साढे आठ बजे विद्यालयबाट खाना खाएर निस्केका रहेछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले भने, ‘आज बिहान ५ बजे विद्यालय नआएपछि मलाई फोन आयो, घरमा बुझ्दा हिँजोदेखि घर नगएको भन्ने कुरा थाहा भयो ।’

त्यसपछि उनको खोजी सुरु गरिएको थियो । विद्यालयदेखि केही मिटर माथिको सडक छेउमा एउटा चप्पल, बिस्कुट र लाइट भएको प्लाष्टिकको पोको भेटियो । ‘सडकमा एउटा चप्पल देखेपछि हामी खोज्दै तल जंगलतिर गयौं, मान्छे घिस्रेको डोब थियो, हेर्दै जाँदा तल उनको शव भेट्यौं अनि प्रहरीलाई खबर गर्‍यौ,’ रेग्मीले भने ।

सडकबाट करिब ५० मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । मृतक घिमिरेको टाउको र खुट्टामा चोट देखिएको छ । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल गोरखा ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका-१० नौविसेका घिमिरे करिब २० वर्षदेखि मनकामना आवासीय बहिरा माविमा कार्यरत छन् । घिमिरे पनि कान सुन्दैनथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment