Comments Add Comment

जिल्लास्तरमा राप्रपाको प्रशिक्षण सुरु

११ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सक्ने गरी अभियान सुरु गरेको छ । साउन अन्तिम साता काभ्रेको धुलिखेलमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रीय प्रशिक्षकहरु अहिले जिल्ला स्तरीय प्रशिक्षणको निमित्त विभिन्न जिल्लामा खटिएका छन् ।

अहिलेसम्म मोरङ, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भइसकेको र भदौ दोस्रो साताभित्र गोरखा, लमजुङ, झापा, बैतडी, पाँचथर, सुनसरीको प्रशिक्षण तय गरिएको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी  दिए । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न चुस्त संगठन, वैचारिक रुपमा सबल कार्यकर्ता र समयानुकूल कार्यक्रम आवश्यक पर्ने भएकाले देशव्यापी प्रशिक्षण सञ्चालन गरिएको उनले बताए ।

प्रशिक्षणमा समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक वैचारिक पक्ष, सक्रिय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारीलगायतका विषयमा जानकारी दिइने राप्रपाले जनाएको छ ।

प्रशिक्षण विभागका प्रमुख भुवन पाठकका अनुसार भदौ महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सक्ने लक्ष्य राखिएको छ । दाङ,  बाँके, बर्दिया, कैलाली कञ्चनपुरको प्रशिक्षणको पनि मिति तय भइसकेको छ । जिल्लास्तरको प्रशिक्षण सकेर असोज महिनामा स्थानीय तहहरुमा प्रशिक्षण सञ्चालन गरिने सहायक प्रवक्ता रमानन्द न्यौपानेले बताए ।

प्रशिक्षण कार्यक्रममा सहभागी हुन अधिकांश केन्द्रीय स्तरका नेता, विभाग र भातृ संगठनका नेता जिल्लामा परिचालित भएका छन् । पार्टी अध्यक्ष कमल थापा अर्को हप्ता नवलपरासी, रुपन्देही, कपिलवस्तु र मकवानपुरको भ्रमणमा जाने राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment