Comments Add Comment

भदौ २५ बाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

Photo Credit : अनलाइनखबर फाइल

१६ भदौ, काठमाडौं । सरकारले भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ ।

यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीहरुलाई बुधबार बोलाएको छ । व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने विभागमा महानिर्देशक गोगबहादुर हमालले जानकारी दिए । ‘व्यवसायीले राख्दै आएका धेरै मागहरु पूरा गरिसकेका छौं, त्यसैले बुकिङ प्रस्तावित मितिमै खोल्न सकिन्छ,’ उनले भने ।

व्यवसायीहरुले भाडादर बढाउनुपर्ने माग गरेका छन् । विभागसँग भएका छलफलहरुमा उनीहरुले वैज्ञानिक भाडा समायोजनलगायतका मुद्दा उठाएका छन् ।

दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग अघि सारिने एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ ।

डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरेको थियो । तर, ५ घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो । यातायात व्यवसायीले अब दशैंको अगि्रम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने व्यवसायीका धेरै मागहरु रहेको बताउँछन् । तर, सरकारले वातावरण तयार गरे बुकिङ खोल्ने बताए । ‘महासंघमा पनि यसबारे छलफल गरेर हामीले धारणा बनाउन बाँकी छ । बुधबार बस्ने बैठकमा हामी आफ्ना मुद्दाहरुबारे जानकारी दिन्छौं,’ उनले भने ।

उनले सडकहरुलाई सुधार गरेर सवारी चल्न सक्ने बनाउन पनि सरकारको ध्यानाकर्षण गरिने बताए ।

सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ । तर, यातायात व्यवसायीले अगि्रम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तस्र्याएर सरकारलाई दवाव दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment