Comments Add Comment

यसरी हुने भयो नेकपा युवा संगठनको एकीकरण, शुक्रबार संयुक्त बैठक

२६ भदौ, काठमाडौं । सत्तारूढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले पार्टीसँग अनुमति लिएर ३३५ सदस्यीय केन्द्रीय समिति गठन गर्ने भएको छ । तत्कालीन युवा संघ र वाईसीएलका निर्वाचित सदस्यहरुलाई समेट्न यसअघि पार्टीले दिएको २५१ को सिलिङले नपुगेकाले ३३५ सदस्यीय बनाउन लागिएको हो ।

युवा संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलबीच समझदारी पछि जारी गरिएको प्रेस विज्ञप्ति अनुसार ३३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन युवा संघका १७६ र वाईसीएलका १५५ जना रहनेछन् । चार सदस्य पछि मनोनित गरिने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, केन्द्रीय समितिको एक तिहाइ सचिवालयमा युवा संघबाट ५७ र वाईसीएलबाट ५२ जना रहनेछन् । ९ सदस्यीय केन्द्रीय कार्यालयमा युवा संघका ५ र वाईसीएलका ४ सदस्य रहने सहमति भएको छ ।

सात प्रदेशमध्ये तत्कालीन युवासंघले ४ र वाईसीएलले तीन जिल्लाको नेतृत्व गर्ने तथा ७७ मध्ये ४२ जिल्लाको नेतृत्व युवा संघ र ३५ जिल्लाको नेतृत्व वाईसीएलले पाउने सहमतिसमेत भएको छ ।

युवा संघको एकता प्रक्रियालाई टुंग्याउन भदौ २७ गते साबिक संगठनका पदाधिकारीहरुको संयुक्त बैठक तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ । सोही दिन कार्यालय उद्घाटन् समेत हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment