
४ असोज, काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रणमा ब्युरो (एनसीबी) ले बिहीबार औषधिजन्य लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चारजनालाई सार्वजनिक गर्यो । पक्राउ परेका चारैजना विभिन्न मुद्दामा जेल बसेर छुटेका व्यक्ति थिए ।
ब्युरोका एसएसपी वसन्त लामाका अनुसार उतिमलाल शाह कर्तव्य ज्यान मुद्दामा २ वर्ष ९ महिना जेल सजाय भोगेर निस्किएका हुन् भने अशोक तामाङ जबरजस्तीकरणी मुद्दामा २ वर्ष ६ महिना कैद भुक्तान गरेर दुई साताअघि मात्रै निस्किएका थिए । सुजेन्द्र लोहनी लागूऔषध मुद्दामा दुई वर्ष र पेमा लामा डाँका चोरी मुद्दामा ३ वर्ष ४ महिना कैद सजाय भोगिसकेका व्यक्ति हुन् ।
यो समूहको साझा विशेषता भनेको सबैले सिराहा कारागारमा कैद जीवन बिताएका हुन् । त्यहीँ उनीहरुबीच चिनजान भएर अर्को अपराधको योजना बनेको अनुसन्धानले देखाएको छ ।
***
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरिएको घटनाका योजनाकार समिरमानसिंह बस्न्यात अहिले केन्द्रीय कारागारमा छन् ।
तर, उनले जेलबाटै आपराधिक लाभ, फिरौती असूली र संगठित अपराध सम्बन्धी कसूर गरिरहेका छन् । जसको मेसो पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बस्न्यातसहित ९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।
कारागारभित्रैबाट बस्न्यातले व्यवसायीलाई धम्क्याएर अवैध असुलीको र्याकेट चलाउन खोजेको प्रहरी निष्कर्ष छ । त्यसो त ‘शंका गर्नुपर्ने केही आधार’ भेटिएपछि गत वर्ष असोज दोस्रो साता बस्न्यातलाई मुस्ताङ कारागार सरुवा गरिएको थियो ।
तर, परिवारले इन्काउन्टर गर्न खोजेको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेपछि उनी केन्द्रीय कारागारको गोलघरमा राखिएका थिए । यो पटक सीआईबीले बलियो सबुतसहित थालेको अनुसन्धानका क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेश पनि अनुसन्धानको दायरामा तानिए ।
****
सीआईबीले २३ साउनमा अवैध अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) मा संलग्न भएको आरोपमा चितवनका ३६ वर्षीय नसिव तामाङलाई पक्राउ गर्यो । उनी एक वर्ष कैद सजाय भोगेर ०७३ सालमा थुनामुक्त भएका व्यक्ति थिए ।
नख्खु कारागार, ललितपुरमा कर्तव्य ज्यान तथा जबरजस्तीकरणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका भक्तबहादुर सुनुवार २२ वैशाख ०७५ मा मारिए ।
सीआईबीले गरेको अनुसन्धानबाट हत्यामा सँगै कैद भुक्तान गरिरहेका अभिषेक सिंहको संलग्नता खुल्यो । सिंहले कारागारभित्रै विष उत्पादन गरेर सुनुवारको हत्या गरेको थियो ।
****
कारागारलाई सुधार गृहको रुपमा विकसित गर्दै लैजाने सरकारी लक्ष्य छ । तर, प्रस्तुत दृष्टान्तहरुले लक्ष्यको ठीक विपरीत दृश्य देखाउँछ । कारागारभित्रै गम्भीर प्रकृतिका अपराधिक योजना बनिरहेको भेटिएको छ ।
सजायँ भोगेर थुनामुक्त हुनेबित्तिकै पुनः अपराधमा संलग्न हुनेको संख्या दिनहुँ बढ्दो क्रममा छँदैछ, अझ गम्भीर पक्ष कारागारमै सञ्जाल बनाएर अवैध क्रियाकलाप गर्नेको जमात पनि बाक्लिँदो छ ।
पहिलो घटनामा लागूऔषधसहित समातिएका शाहले सिराहा कारागारमा परिचय भएका अशोक, सुजेन्द्र र पेमालाई संलग्न गराएर तस्करी थालेको ब्युरोका एसएसपी वसन्तकुमार लामा बताउँछन् ।
समिरमानले जेलभित्रका कैदीबन्दी र गृहमन्त्रीका भाइ मात्र होइन, ड्युटीमा रहेका प्रहरी जवान वीरबल भट्टराईलाई समेत फिरौती असुली धन्दाको मतियार बनाए ।
नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी भन्छन्, ‘नेपालका जेल सुधारगृह होइन, अपराधको तालिम केन्द्र र नेटवर्क विकास गर्ने थलोको रुपमा विकसित हुँदै गएका छन् ।’
ठूला र गम्भीर प्रकृतिका अपराधमा संलग्न अधिकांशले कारागारभित्रै समूह निर्माण गरेर अपराध कर्ममा लाग्ने प्रवृत्ति बढ्दो अवस्थामा रहेको ठकुरी बताउँछन् ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटा भने सुधार गृह भनिए पनि मानिसको आनीबानी सुध्रिन धेरै समय लाग्ने बताउँछन् । ‘यो भ्याट्टै एकैचोटि सुध्रिने विषय होइन’, सापकोटाले अनलाइनखबरसँग भने, ‘तर, निकिस्ने वित्तिकै कुनै अपराधमा संलग्न देखिए उनीहरु पुनः समातिन्छन् र कानूनी दायरामा आउँछन् ।’
समाजमा पुनःस्थापित हुन गाह्रो
केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेल जेल जीवन विताएर निस्किएका व्यक्तिलाई समाजमा पुनःस्थापित हुन गाह्रो हुने गरेको बताउँछन् ।
‘एकपटक आपराधी करार भइसकेका मान्छेलाई समाजले आपराधिक पृष्ठभूमिबाटै हेर्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले भने, ‘उसले रोजगारीका लागि विभिन्न बाटो खोजे पनि अवसर पाउने सम्भवना न्यून हुने गरेको देखिन्छ । त्यसैले पुनः अपराधकर्ममै फर्किने गरेको देखिएको छ ।’
कारागारमा रहँदा भएको सम्पर्क र सम्बन्धले पनि गलत कार्यलाई नै प्रोत्साहन दिइरहने पोखरेल बताउँछन् । त्यसले एकपटक जेल जीवन विताएका व्यक्तिलाई सही मार्गमा हिँड्नबाट निरुत्साहित गरिरहेको उनी बताउँछन् ।
‘हाम्रो सामाजिक स्थिति र कारागारको वातावरणले एउटा अपराधी विगतमा गरेका कामबाट पश्चाताप गर्नेभन्दा अपराधको व्यवसायीकरण गर्नेतर्फ अग्रसर हुन्छ’, उनले सुनाए, ‘फेरि एकपटक कारागार बसेर निस्किसकेपछि उसले फेरि जेल जानु कठिन कुरा होइन भन्ने सोचाइ राख्न थाल्दो रहेछ ।’
मनोविद् गोपाल ढकाल पटकपटक अपराधमा संलग्न हुने प्रवृत्तिका व्यक्तिलाई ‘साइकोप्याथ’ को संज्ञा दिन्छन् । ‘उनीहरु आजीवन अपराध गर्छन् र दण्ड सजायबाट पनि सुध्रिँदैनन्’, ढकालले अनलाइनखबरसँग भने, ‘यो एक किसिमको मानसिक रोग नै हो । जुन रोग लागेका व्यक्तिमा बदलाको भावना उग्र रुपमा हुन्छ ।’
जेलभित्रैबाट पनि आपराधिक योजना बनाउने व्यक्तिमा पश्चातापको भावना र सुध्रिने चाहना पनि नहुने ढकालको भनाइ छ । ‘उनीहरुको मानसिक उपचार गर्नु जरुरी हुन्छ । समाजमा खुला छाड्यो भने फेरि अपराध हुने सम्भवना रहन्छ’, ढकाल भन्छन् ।
आन्तरिक प्रशासन ‘कमाउ अड्डा’
कारागारभित्र हुने ‘कैदीबन्दीको छुट्टै संसार’ले पनि आपराधिक प्रवृत्तिलाई प्रश्रय दिइरहेको विज्ञ बताउँछन् ।
कारागारभित्रको आन्तरिक प्रशासनका चौकीदार, भाइ नाइके, नाइके लगायत कैदीबन्दीबाटै छानिन्छन्, जसले कैदीबन्दीको प्रशासन चलाउँछन् ।
‘जेलमा राखिने पसललगायतका गतिविधि पनि उनीहरुले नै चलाउने गर्छन्, जुन कमाउ अड्डा बनेका छन्’, सीआईबीका पूर्वनिर्देशक समेत रहेका ठकुरी भन्छन्, ‘बाहिर १० रुपैयाँ पर्ने खैनीलाई कारागारभित्र २५ रुपैयाँसम्म लिन गरिएको देखिन्छ ।’ यस प्रकृतिका गतिविधिले रिस, द्वेष र आपराधिक मनोवृत्तिलाई बढाउने उनी बताउँछन् ।
अपराध अनुसन्धानमा लामो समय बिताएका पूर्वप्रहरी निरीक्षक दिपेन्द्र अधिकारी नेपालका कारागारमा निजामतीका प्रशासक राखिँदा पनि समस्या हुने गरेको टिप्पणी गर्छन् ।
‘विश्वको अन्य देशमा कारागार प्रशासन सिभिलियनको हातमा छैन’, अधिकारीले अनलाइनखबरसँग भने, ‘अन्य देशमा पनि जेलभित्र योजना नबन्ने भन्ने त होइन । तर, हाम्रोमा जति सजिलो हुँदैन ।’
अहिले कारागारबाट कैदीबन्दीलाई अदालत, अस्पताल लाने, ल्याउने र सुरक्षा दिने काममा मात्र प्रहरी संलग्न हुँदै आएको छ । प्रशासनका कर्मचारीबीच पनि कारागारलाई ‘आकर्षक’ पोस्टिङ मानिन्छ ।
‘कारागारलाई कर्मचारी वा चौकीदार, भाइ नाइके लगायतले आम्दानीमा चलाउन पाउने वातावरण बन्न दिनु हुँदैन’, पूर्वडीआईजी ठकुरी भन्छन्, ‘जेलभित्र हुने कारोबार पूर्ण रुपमा निषेध गरिनुपर्छ ।’
नाइके, भाइ नाइकेको छनौटमा पनि आर्थिक विषय जोडिने बताउँदै ठकुरी भन्छन्, ‘यो प्रक्रियालाई पनि पारदर्शी बनाएर छनौट मापदण्डको पूर्ण कार्यान्वयनको जरुरी देखिन्छ ।’
कैदीबन्दीको वर्गीकरण आवश्यक
हरेक किसिमका अपराधमा संलग्नलाई एकैठाउँमा राख्दा संगतका कारण खुंखार अपराधी भएर निस्किने सम्भावना रहने मनोविद् ढकाल बताउँछन् । ‘पेशेवर अपराधीलाई छुट्टै वर्गीकरण गरेर राखिनुपर्छ’, उनी भन्छन्, ‘नैतिकतासम्बन्धी कक्षा, मनोथेरापी र उत्प्रेरणा जगाउने किसिमका कक्षाहरु पनि आवश्यक हुन्छ ।’
पूर्वप्रहरी निरीक्षक अधिकारी पनि ढकालको कुरासँग सहमत छन् ।
‘चोरी, अपहरण, मानव बेचबिखन, लागूऔषध, संगठित अपराध, आतंकवाद, कर्तव्य ज्यान, भवितव्य कर्तव्य ज्यान जस्ता सबै कसूरका अपराधी एकैठाउँमा राख्दा कारागार आइडिया सिक्ने थलो बन्न सक्छ’, अधिकारीले भने, ‘अभियुक्तको सजाय अवधिको आधारमा पनि वर्गीकरण गरेर छुट्टाछुट्टै सेलमा राख्नु आवश्यक छ ।’
चाँडै छुट्ने कैदीबन्दीलाई प्रयोग गरेर अन्य अपराध गराउने सम्भावना हुनसक्ने भएकाले पनि वेग्लै स्थानमा राख्नु जरुरी रहेको उनी बताउँछन् । सार्वजनिक मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न नसक्दा ६ महिनाका लागि जेल पुगेका व्यक्तिको धरौटी तिरिदिएर पनि अपराधकर्म गराउने प्रवृत्ति देखिएको उनी बताउँछन् ।
विगतमा पेशेवर अपराधी अमर टण्डन, उदय सेट्टी, अभिषेक गिरीहरुले पनि यही शैलीको प्रयोग गरेर हत्या र अपहरण धन्दा मच्चाएका थिए ।
निरन्तर निगरानी
सुरक्षाविद्हरुको भनाइमा कारागारभित्र पनि कैदीबन्दीमाथि निरन्तर निगरानी आवश्यक हुन्छ । उनीहरुको भेटघाट, सम्पर्क र सम्बन्धबारे अनुसन्धान भइराख्नु पर्ने सुरक्षा क्षेत्रमा सम्बद्ध अधिकारीहरु बताउँछन् ।
विभिन्न सन्दर्भमा राजनीतिक हिसाबले सिफारिसमा माफी दिने परिपाटीको अन्त्य हुनु पनि आवश्यक रहेको पूर्वडीआईजी ठकुरी बताउँछन् । ‘गुण र दोषको आधारमा छुट दिनुपर्ने हो । सिफारिसका आधारमा होइन’, उनी भन्छन् ।
आन्तरिक प्रशासनमा पनि सरकारी क्यान्टिन वा पसल राखेर वा बलियो नीति बनाएर कारागारभित्र हुने नाफामुलक कार्यलाई निरुत्साहित गरिनुपर्ने अधिकारीहरु बताउँछन् ।
जाली नोट कारोबारको आरोपमा समातिएका युनुस अन्सारीलाई कारागारभित्रै गोली हानिएपछि सीआईबीले कैदीबन्दीको निगरानीका लागि उपत्यकाका ३ कारागारमा छुट्टै टोली पनि खटाएको छ । तर, पर्याप्त विश्लेषणको अझै पनि अभाव रहेको बताइन्छ ।
‘सुरक्षाप्रति राज्यको चासो र अपराधीसँग कर्मचारी प्रलोभनमा पर्ने अवस्था रहेसम्म यो समस्या निराकरण हुँदैन’, सीआईबीका एक अधिकृत भन्छन् ।
प्रहरी प्रवक्ता पोखरेल पनि कैद सजाय भुक्तान गरिरहेका वा गरेर निस्किएका व्यक्तिप्रति गम्भिर हुनुपर्ने स्थिति आएको स्वीकार्छन् । उनी भन्छन्, ‘नेपाल प्रहरीले उनीहरुका सम्बन्धमा निरीक्षण, नियन्त्रण र निगरानीलाई अझै बढाएर लानेछ ।’
जेलभित्रै अपराध हुने गरेको विषय नोटिसमा रहेको बनाउँदै कारागार विभागका सूचना अधिकारी सापकोटा पनि आफूहरु सचेत रहेको बताउँछन् । उनी भन्छन्, ‘जहाँसम्म कैद मिनाहाको कुरा छ, त्योचाहिँ माथिबाटै हुने भएकाले हामी के गर्न सक्छौं र !’
प्रतिक्रिया 4