Comments Add Comment

नौबीसेको जाममा फसेका बिरामीको मृत्यु

१० असोज, काठमाडौं । उपचारका लागि काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको नौबीसेको जाममा फसेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् ।

मिर्गौला रोगी साहलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित पृथ्वीराजमार्गमा बसभित्र मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए । हुलाकीडाँडा सिम्लेभन्दा तल र महादेवबेँसीभन्दा माथि पर्छ ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौं ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेँसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताए ।

एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि साहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । साहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताए ।

सडक मर्मत र ठूला सवारीसाधनका कारण यो सडक खण्डमा झण्डै ३० किलोमिटर लामो जाम छ । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् ।

राससकाे सहयाेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment