Comments Add Comment

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

११ असोज, चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ ।

अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो ।

मध्यान्ह १२ बजेतिर कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवाहरुको समूह कार्यक्रम स्थल पुग्यो । उनीहरुले ‘ज्ञानेन्द्र शाही मुर्दावाद, राजवादीलाई बहिष्कार गरौं’ लगायतका नारा लगाए । कार्यक्रमस्थल नजिकै रहेको प्रहरी तत्काल पुग्यो र मानिसहरु तितरवितर बनायो ।

स्थानीय प्रशासनले कार्यक्रम नगर्न भनेपछि अभियानका अगुवाहरु पनि पछि हटे । घटना केही साम्य भए जस्तो भयो ।

केही अभियान्ता विमानबाट काठमाडौं फर्किए भने शाहीको टोली गाडीबाट आउने तयारीका लागि चौविसकोठीको होटल ग्लोबलमा मात्र के पुगेको थियो, युवाहरुको समूहले आक्रमण गर्‍यो । हाइस गाडीमाथि ढुंगामुढा भयो ।

हातमा ढुंगा, इट्टा तथा रड बोकेका युवाहरुले शाहीलाई लक्षित गरी अन्दाधुन्ध हानेको गाडीमा रहेकाहरु बताउँछन् । ‘ढुंगैढुंगाले हान्यो, रडले समेत हाने’ गाडीमा रहेका एकले भनेका छन् ।

केहीबेरमा प्रहरी पुग्यो । आक्रमणकारी युवाहरु भने भागेका छन् । प्रहरीले नेकपा आवद्ध एक जनालाई भने पक्राउ गरेको छ ।

शाहीलाई काठमाडौं पठाइयो

प्रहरीको सहयोगमा घाइते शाहीलाई चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको हातका साथै शरीरका अन्य भागमा पनि चोट लागेको तर सिटी स्क्यान लगायतका परीक्षण गर्दा गहिरो चोट नदेखिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिएका छन् ।

चितवनमा प्राथमिक उपचारपछि उनलाई काठमाण्डौं पठाइएको छ । थप उपचार र जिल्लाको शान्ति सुरक्षा नबिग्रियोस् भनेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment