Comments Add Comment

सभामुखबाटै बलात्कृत भएँ भन्दै सांसदलाई फोन !

Photo Credit : सांकेतिक तस्वीर

१४ असोज, काठमाडौं । सभामुखमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएकी संसदकी कर्मचारीले ‘घटना’ भएलगतै आइतबार राति नै सांसदहरुलाई फोन गरेर सहयोग मागेको खुलासा भएको छ ।

शनिबार राति ७ बजेतिर सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएको र यौन दुर्व्यवहार गरेको पीडितको दाबी छ । उनले त्यही रात साढे ११ बजे नेपाली कांग्रेसकी सांसद् उमा रेग्मी अधिकारीलाई फोन गरेको पाइएको छ । रेग्मीले अनलाइनखबरसँग भनिन्, ‘मलाई न्याय चाहियो माननीयज्यू भन्दै फोन गरेकी थिइन् ।’

‘मैले के भयो र भनेर सोधेँ, उनले म रेपमा परेँ भनिन् । कोबाट भन्दा सभामुखबाट भनिन् ।’

त्यो आफूलाई पत्याउनै गाह्रो भएको रेग्मीले सुनाइन् । उनी भन्छिन्, ‘प्रमाण के छ त भन्दा उनले प्रतिवाद गर्दा मलाई कुटपिट पनि गरे, अरु केही प्रमाण छैन भनिन् ।’

त्यसपछि आफूले यदि बलात्कारको प्रयास नै भएको भए कानूनी उपचार खोज्न सुझाएको सांसद रेग्मीले सुनाइन् ।

सांसद रेग्मीका अनुसार पीडित महिला संसद सचिवालयकी कर्मचारी हुन् र संसदमा जाने क्रममा बेलाबेला देखभेट हुन्थ्यो ।

आइतबार विहान पनि पीडित महिलाले फोन गरेपछि आफूले पार्टीका नेताहरुलाई पनि घटनाबारे बताएको रेग्मीले बताइन् । तर, त्यसपछि कुनै सम्पर्क भएन । ‘अरु प्रमाण केही छैन । प्रमाण भनेको उनी मात्र हुन् । उनी अगाडि आइन् भने हामीले साथ दिन्छौं, नभए हामीले के गर्ने’, सांसद रेग्मीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment