Comments Add Comment

मिथिला क्षेत्रमा यसरी मनाइँदैछ कोजाग्रत पूर्णिमा

२६ असोज, जनकपुरधाम । आज कोजाग्रत पर्व । विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैंछ ।

महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ ।

मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्वपूर्ण मानिन्छ । पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ ।

पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार पठाउने चलन छ ।
भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नै पर्ने हुन्छ ।

बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात चुमाओन गरिन्छ ।

पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतसहित आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइदिदैं ससुरालीबाट आउने कपडा पहिर्‍याउने गरिन्छ ।

बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक मिसिमको आर्शिवाद दिनु हो ।

चुमाओन विधि सकिएपछि सामूहिक रुपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखान, पान बाँड्नैपर्ने हुन्छ ।

खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी बेहुला र बेहुलीका दाजु वा भाईबीच खेलिन्छ ।
बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरु पनि दिने चलन छ । आभूषण, औंठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यस दिन छोरीको विवाह गर्दा प्रतिबद्वता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ ।

यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ या १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ ।

छोरीको विवाह भएर विदाई गर्ने बेलामा दिइने कोसेली झैं कोजगरा पर्वमा पनि कोसेलीहरु दिइने गरिन्छ ।

मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्‍याउनुपर्ने हुन्छ ।

जानकी मन्दिरमा उत्सव मनाइँदै

कोजगराका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव नै मनाइन्छ । यो उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् ।

यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ । बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाई दही च्यूरा, पान मखानसहितका १ सय ८ वटा भार यस पटक पनि आएको छ ।

मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी थालिएको छ ।

कोजगराको अवसरमा बिहानैदेखि जानकी मन्दिरमा श्रद्वालुहरुको व्याप्क भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment