Comments Add Comment

नेकपाको चियापान आज, एक लाखलाई निम्तो

सर्वसाधारण र भीआईपीलाई अलग-अलग समय निर्धारण

२९ असोज, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दैछ । बुधबार मध्याह्न काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्न लागिएको हो ।

नेकपा महासचिव विष्णु पौडेलका अनुसार १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई निम्तो गरिएको छ । यस्तै ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलगायतलाई निम्तो गरिएको छ ।

यस वर्षको चियापान कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले एक लाख जनालाई निम्तो बाँडेको नेकपाका नेताहरुले बताएका छन् ।

दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसर पारेर बिभिन्न राजनीतिक दल तथा संघसंस्थाहरुले चियापान कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएका छन् । यस्ता कार्यक्रमले आपसी सदभाव, एकता र मेलमिलापलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ ।

यसअघि नेपाली कांग्रेसले २६ असोजमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment