Comments Add Comment

नेपालबाट ३ महिनामा २७ हजार किलो कफी निर्यात

१७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले विश्वका ११ मुलुकमा झण्डै २७ हजार किलो कफी निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार २६ हजार ८ सय ११ किलो कफी साउनदेखि असोज मसान्तसम्म नेपालबाट निर्यात भएको हो ।

आर्थिक वर्ष ०७५/७६ भरिमा ९ करोड ९६ लाख रुपैयाँ बराबरको कुल ८४ हजार १ सय ३१ किलो कफी नेपालबाट निर्यात भएको थियो । चालु आर्थिक वर्षको तीन महिनामा ३ करोड १३ लाख २३ हजार रुपैयाँको कफी निर्यात भएको विभागले जनाएको छ ।

नेपाली कफी क्यानडा, अमेरिका, जापान, ताइवान, बेलायत र यूरोपेली बजारसम्म पुगेका छन् । तीन महिनाको विवरणले भने यूरोप नै नेपाली कफीको मुख्य बजार भएको संकेत गरेको छ ।

आर्थिक वर्षको सुरुवाती तीन महिनामा नेपालले सबैभन्दा धेरै कफी जर्मनी निर्यात गरेको छ । यस्तै दोस्रो ठूलो बजार स्वीट्जरल्याण्डमा देखिएको छ । जर्मनीमा ९ हजार २ किलो र स्वीट्जरल्याण्डमा नेपालले ८ हजार किलो कफी साउनदेखि असोज मसान्तसम्म बिक्री गरेको थियो ।

यस्तै दक्षिण कोरियामा ४५ सय किलो, डेनमार्कमा २ हजार किलो, अमेरिकामा १३ सय ९३ किलो, फ्रान्समा ६ सय किलो कफी निर्यात भएको छ । क्यानडामा १३५ किलो, बेलायतमा ३२० किलो, हङकङमा २७० किलो, जापानमा ५३६ किलो तथा ताइवानमा ५५ किलो कफी नेपालबाट निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment