Comments Add Comment

प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

२० कात्तिक, जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रमुख तिलक परियारले बुधबार आफ्नो पदभार ग्रहण गरेका छन् । बिहान १० बजेतिर जनकपुरधाम आएका परियार मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रमुख परियारले यहाँको सरकारसँग मिलेर अघि बढ्ने बताए । उनले अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।

आफू एउटा पार्टीबाट नियुक्त भएपनि अब कुनै पार्टीको व्यक्ति नभएको उनले बताए । ‘अब समग्र देशको मान्छे हुँ, कुनै पार्टीको मान्छे होइन’ उनले भने, “अब समग्र देशका लागि काम गर्छु ।”

१८ कात्तिकमा प्रदेश २ प्रमुखमा नियुक्त भएका परियारले प्रदेशमा पारित हुने विधेयकको अध्ययन गरी प्रमाणित गरिने बताए ।

उपेन्द्रले भने–मिथिलानगरीमा स्वागत छ

बुधबार बिहान जनकपुरधाम आएका परियारलाई संघीय सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र प्रदेशका मुख्यमन्त्री लालबाबुले विमानस्थलमै स्वागत गरेका छन् ।

परियार आएकै बुद्व एयरको जहाजबाट यादव र राउत काठमाडौं गइरहेका थिए । संयोगले यिनीहरुको भेट हुने पक्का थियो । यही क्रममा उपेन्द्र र लालबाबुले परियारलाई विमानस्थलमै स्वागत गरे । त्यस क्रममा उपेन्द्र र राउतले परियारसँग हात मिलाए भने उपेन्द्रले ‘मिथिला नगरीमा स्वागत छ भने’ ।

प्रदेश २ लाई मधेश नामांकरण गर्न अग्रसरता देखाइरहेको समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले मिथिला नगरीमा स्वागत छ भनेपछि यहाँ उपस्थित धेरै जना आश्चर्यमा परेका थिए ।

मधेश भवनमा पनि स्वागत

नयाँ प्रदेश प्रमुखको रुपमा आएका परियारलाई मधेश भवनभित्र पनि भव्य स्वागत गरिएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलसहित कर्मचारीहरुले स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment