Comments Add Comment

राअविका २५ अधिकृतले लिए अप्रेशन कमाण्ड तालिम

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा बुधबार आयोजित एक कार्यक्रमवीच दोस्रो समूहको अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम समापन भएको छ । राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतहरुको लागि तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण पश्वात गृहमन्त्री थापाले निर्दिष्ट उद्देश्य लिइ सञ्चालन गरिएको यस तालिमले प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा आ-आफ्नो जिम्मेवारी वहन गर्दा आवश्यक पर्ने प्रभावकारी कमाण्ड र सही नेतृत्वको उल्लेखनीय रुपमा विकास भई कार्यदक्षतामा अभिवृद्धि आउने विश्वास व्यक्त गरे ।

प्रशिक्षणले प्रशिक्षार्थीहरुको विभिन्न ज्ञानको दायरालाई बढाउनुका साथै शारीरिक र मानसिक रुपमा सबल र स्वस्थ्य भइ आत्मविश्वासमा वृद्धि भएको विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा आफ्नो जिम्मेवारीलाई पूर्णरुपमा पालना गर्नको निम्ति तालिममा सिकाइएका ज्ञान र सिपहरुलाई कार्यक्षेत्रमा व्यवसायिक र कुशलता पूर्वक लागू गर्न उनले निर्देशन समेत दिए ।

थापाले देशको शान्ति सुरक्षा र अमन चयनलाई आन्तरिक वा वाह्यय रुपमा मजबुद बनाउन सबै सुरक्षा निकायले युनिफाइड र इन्ट्रिगेटेड रुपमा कार्य गर्नको निम्ति यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने चर्चा गरे ।

देशभित्र र बाहिर रहेका गलत व्यक्ति वा समूह, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, लागूऔषध, मानव वेचबिखन र साइबर  अपराध जस्ता गतिविधिहरु देशलाई कमजोर बनाउने तत्वहरु रहेको बताउँदै गृहमन्त्री थापाले भने, ‘यस्ता गतिविधिलाई निस्तेज पार्न सुदृढ र भरपर्दो सूचना आवश्यकता हुने गर्दछ । तसर्थ राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाइ व्यवसायिक इन्टिलिजेन्स संस्थामा रुपान्तरण गर्न यस तालिमले थप मद्दत गर्नेछ ।’

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतिहरुको पहिचान गरी प्रभावकारी सूचना संकलन र विश्लेषणद्वारा त्यस्ता चुनौतिहरुलाई निस्तेज बनाउन महत्वपूर्ण जिम्मेवारी वहन गर्न अनुसन्धान अधिकृतहरुको व्यावसायिक दक्षता र सिप राष्ट्रिय सुरक्षा र प्रभावकारी सेवा प्रवाहको लागि महत्वपूर्ण हुने बताए ।

देशभरका विभिन्न जिल्लामा अनुसन्धान संयन्त्र कमाण्ड गर्ने अधिकृतहरुको नेतृत्व क्षमता अभिवृद्धि गरी आगामी दिनमा प्रभावकारी कार्यसम्पादन लागि यस तालिम उपयोगी हुने खनालले चर्चा गरे । राष्ट्रिय सुरक्षा सम्बन्धी देखिएका चुनौतिहरुको सामना गर्न अनुसन्धान अधिकृतहरुमा सुरक्षा चुनौतिहरुको मूल्याङ्कन गर्ने, सुरक्षा रणनीतिक एवम् योजना निर्माण गर्ने र सम्बन्धित सुरक्षा निकायहरुसँग प्रभावकारी समन्वय गर्न सक्ने क्षमता हुन अपरिहार्य रहेको उनले बताए ।

कार्यक्रममा तालिम गतिविधि सम्बन्धि श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो । कुल ४५ कार्यदिनको उक्त तालिममा राष्ट्रिय अनुसन्धान विभागका १५ जना उप-अनुसन्धान निर्देशक र १० जना प्रमुख अनुसन्धान अधिकृतहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment