Comments Add Comment

दशैंको सिजनमा पनि रेमिट्यान्स ५ प्रतिशतले घट्यो

५ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो महिनामा ओरालो लागेको रेमिट्यान्स तेस्रो महिनामा आउँदासमेत ओरालो लागेको छ । अघिल्लो महिना (भदौ) मा ०.३ प्रतिशतले कमी आएको रेमिट्यान्स तेस्रो महिना अर्थात असोज मसान्तसम्म आइपुग्दा करिब ५ प्रतिशतले घटेको हो ।

दशैं, तिहारजस्ता चाडपर्वका कारण यो महिनामा सबैभन्दा धेरै रेमिट्यान्स आउने सिजन हो । चालु आर्थिक वर्षको तेस्रो महिनामा २३० अर्ब २४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९ प्रतिशतले कमी हो ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा गत आर्थिक वर्ष २०७५/७६ मा भने विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो । तर यो वर्ष रेमिट्यान्स घटेको हो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यासमेत घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment