Comments Add Comment

आलंकारिक राष्ट्रपतिको अनपेक्षित शक्ति अभ्यास

८ मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित पत्रिकाहरुमा राजनीतिक समाचारहरु नै प्राथमिकतामा परेका छन् । विप्लव समूह छिन्नभिन्न भएको, सत्यनिरुपण र बेपत्ता आयोगका पदाधिकारी सिफारिसमा राजनीतिक हस्तक्षेप भएको, उपचुनाव दलीय प्रतिष्ठाको लडाइँ भएको, राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी भूमिकामा प्रस्तुत भएको लगायतका समाचार आजका पत्रिकाहरुमा छन् ।

नेपाल साप्ताहिकले बालुवाटार, सिंहदरबार, धुम्बाराहीका निर्णय, नियुक्ति र दैनिकीमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनपेक्षित चासो दिएको कभर स्टोरी छापेको छ । राष्ट्रपति भण्डारीबाट भइरहेको शक्ति र सत्ताको दुरुपयोग अनि क्षेत्राधिकार नाघेर गरेका हस्तक्षेपको वृत्तान्त पस्केको नेपाल साप्ताहिकको सम्पादकीयसमेत राष्ट्रपतिकै कार्यशैलीसँग सम्बन्धित छ ।

‘राष्ट्रपतिको शक्ति अभ्यास : मेरो सरकार, मेरो पार्टी’ शीर्षकको सम्पादकीयमा नेपाल लेख्छ- पहिलो कार्यकालमा संवैधानिक सीमा बिर्सेर शक्तिको अतिरिक्त प्रयोग गरेको भनी राष्ट्रपति भण्डारीको आलोचना हुँदै गर्दा दोस्रो कार्यकालमा त्यसो नगर्न सचेत पनि गराइएकै थियो । तर विगतमा आफ्नो प्रतिबद्धता रहेको पार्टीको सत्ता-अनकूलताको फाइदा ‘म्याडम महामहिम’ले हालका दिनहरुमा झन् उठाइरहेको देख्न सकिन्छ ।

विप्लव समूह छिन्नभिन्न

सरकारले दिएको १५ दिने समयसीमाभित्र मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरेको र नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छिन्नभिन्न भएको विषयले प्राथमिकता पाएको कान्तिपुर दैनिकमा नेकपा अध्यक्ष प्रचण्डको अन्तर्वार्ता पनि छ । अन्तर्वार्ताको क्रममा दुवै अध्यक्षलाई कार्यकारी भएको अनुभूति भएको बताएका प्रचण्डले सरकार र पार्टी प्रभावकारी बनाउन जति काम गर्नुपर्थ्यो, त्यति गर्न नसकिएको स्वीकार गरेका छन् ।

सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसमा ‘राजनीतिक हस्तक्षेप’

नागरिक दैनिकका अनुसार सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसमा राजनीतिक हस्तक्षेप भएको ठहर गर्दै राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना प्रतिनिधि आयोगबाट फिर्ता बोलाउने तयारी गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकसँग भनेका छन्, ‘समितिमा वातावरण पारदर्शी छैन । आयोग प्रतिनिधि अल्पमतमा परी बहुमतले निर्णय गर्ने सम्भावना छ । स्वतन्त्र रुपले सिफारिस गर्ने वातावरण हुँदैन भने मानवअधिकार आयोगका प्रतिनिधि त्यो समितिमा बसिरहनुको अर्थ छैन ।’

डाक्टर उत्पादन गर्ने थलो मेडिकल कलेज बदनाम बन्दै गएको समाचार राजधानी दैनिकमा छ । समाचारमा चितवन मेडिकल कलेजको हाताबाट दुई थान गोलीसहित पेस्तोल बरामद भएको समाचारलाई पनि समेटिएको छ ।

अन्नपूर्ण पोष्टले कास्की क्षेत्रनम्बर २ को उपनिर्वाचनलाई दलीय प्रतिष्ठाको लडाइँको रुपमा प्रस्तुत गरेको छ ।

हिमाल साप्ताहिकले एसपी भुपेन्द्र खत्रीको कभर स्टोरी छापेको छ । एसपी खत्रीको अब्बल अनुसन्धान रिपोर्टकै कारण कांग्रेस नेता मोहम्मद अफताब आलमको जेलयात्रा सम्भव भएको समाचारको सार छ । १२ वर्षअघि रौतहटमा भएको बम विष्फोटका घटनाका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको ठहरसहित जिल्ला अदालत रौतहटले आलमलाई जेल सजायँ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment