Comments Add Comment

सरकार विकास र समृद्धिको योजनाविहीन छ : शशांक कोइराला

२३ मंसिर, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेकपा नेतृत्वको सरकारसँग विकास र समृद्धिको योजना नरहेको दावी गरेका छन् ।

उनले सरकार जनताप्रति उत्तरदायी भन्दा पनि जनतालाई ठूला–ठूला सपना बाँड्ने र झुटा आश्वासन दिनेमा केन्द्रित रहेको आरोप लगाए ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, ‘सरकार गठन भएको दुईवर्ष बित्यो, सरकार अहिले पनि विकास र समृद्धिको योजनाविहीन छ, सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर विकास निर्माणको कुनै काम गर्न सकेन । सरकार पुरै असफल भइसक्यो ।’

उनले सरकारले पानीजहाज चलाउने, रेल भित्र्याउनेलगायतका ठूला विकासे योजनाको नारा जनतालाई बाँड्ने काम मात्र गरेको टिप्पणी गरे ।

अर्को प्रसंगमा महामन्त्री कोइरालाले हिन्दुराष्ट्र आफनो एजेन्डा नभएको बताउदै उनले धर्म स्वतन्त्र हुनुपर्ने र त्यसको लागि जनमत संग्रह गराउनुपर्ने पक्षमा आफू सधैं रहेको बताए ।

महामंत्री कोइरालाले कांग्रेसका महाधिवेशनको मिति तोकिएको समयमा हुनुपर्नेमा पनि जोड दिए ।

कांग्रेसको विधान अनुसार महाधिवेशनको मिति एक वर्षसम्म थप्न मिल्ने भए पनि ६ महिना वा एक वर्षमात्र महाधिवेशनको म्याद थप्दा उचित हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment