Comments Add Comment

वीरगञ्जमा ५१ कुण्डीय गायत्री महायज्ञ सुरु

२४ मंसिर, वीरगञ्ज । वीरगञ्जमा मंगलबारदेखि ५१ कुण्डीय गायत्री महायज्ञ एवं संगीतमय पुराण सुरु भएको छ । अखिल विश्व गायत्री परिवारको आयोजनामा वीरगञ्जको घण्टाघर छेउस्थित वीपी उद्यान पार्कमा महायज्ञ सुरु भएको हो ।

नारी जागरण अभियान अन्तर्गत नारी सशक्तिकरणका लागि महायज्ञ आयोजना गरिएको अखिल विश्व गायत्री परिवारले जनाएको छ ।

शुक्रबारसम्म चल्ने महायज्ञमा शान्तिकुञ्ज हरिद्वारबाट आएका सन्ध्या तिवारी नेतृत्वको ब्रम्हा वादिनीहरुले पुराण कथा वाचन र भजन किर्तन गर्नेछन् । त्यसबाहेक द्विप प्रज्वलन, सामूहिक जप, प्राज्ञयोग व्यायामका कार्यक्रम राखिएका छन् ।

त्यसैगरी महायज्ञमा विभिन्न संस्कार, कपाल मुंडन, नामाकरण, अन्न प्राशन, विद्यारम्भ, यज्ञोपवित, जन्मदिवस, विवाह आदि कार्य निशुल्क गराउनुको साथै पुस्तक मेला एवं साहित्य प्रदर्शनी समेत राखिएको छ ।

महायज्ञ सुरु गर्दै ब्रम्ह वादीनी तिवारीले महिला माथि दमन र शोषणको पराकाष्ठा बढेको समयमा नारी शक्ति जागृत हुनुपर्ने बताइन् ।

‘मनुष्य समाज जडतातर्फ जान खोजेपछि जहिलेपनि नारीशक्तिले चेतनातर्फ लैजाने गरेका छन् ।’ उनले भनिन् ‘रचयिताले मनुष्य रचना गर्दा अझ सुन्दर कुरा बनाउनुपर्छ भनेर नारी बनाएका हुन् । नारीमा निर्माण, व्यवस्था र संहारको गुण छ, शक्ति, सामथ्य र सौर्य पराक्रम छ ।’

गायत्री परिवार शान्तिकुञ्ज हरिद्वारका ओगिन्द्र सिंहले शान्तिकुञ्जमा १० वटा ब्रम्हा वादीनी टोली रहेको जानकारी दिए । ‘उनीहरु नारी सशक्तिकरणका लागि रुढी वादी परम्परा हटाउन देश विदेशमा वाद्यवादन र भजन किर्तनका लागि जान्छन्,’ सिंहले भने, ‘यसले नयाँ पुस्तामा परिवर्तन ल्याउँछ ।’

नारी सशक्त भए मात्रै परिवारको सही सञ्चालन हुने र समाजमा अनुशनसन कायम रहने तर्क उनको छ । महायज्ञ सुरु गर्नुअघि कलशयात्रासहित वीरगञ्ज बजार परिक्रमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment