Comments Add Comment

जुम्लामा जडिबुटी खोज्न गएका १२ जना अलपत्र, एक जनाको मृत्यु

सोमबार हेलिकप्टरबाट उद्दार गर्ने तयारी

२९ मंसिर, काठमाडौं । जुम्लाको तिला गाउँपालिका–६ मा रहेको जंगलमा जडिबुटी खोज्न गएका १२ जना अलपत्र परेका छन् । हिमपातका कारण उनीहरु शनिबारबाटै हराइरहेका थिए ।

अलपत्र परेको क्षेत्रमा सञ्चार सम्पर्क सुविधा नभएकाले आइतबार साँझ मात्रै घटनाबारे जानकारी प्राप्त भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले अनलाइनखबरलाई बताए ।

उनका अनुसार वडा नं. ९ का वडाध्यक्षले खच्चडबाट फर्किने क्रममा एक जनाको लडेर मृत्यु भएको पनि जानकारी दिएका छन् । मृत्यु हुनेमा वडा नं. ९ कै २६ वर्षीय दिनबहादुर बोहरा छन् ।

घटनामा चार वटा खच्चड पनि मरेको सूचना प्राप्त भएको उनले बताए । श्रेष्ठले भने, ‘गाउँबाट हिँडेरै आएर हामीलाई घटनाबारे वडाध्यक्षज्यूले जानकारी गराउनु भएको छ । सहयोगका लागि हामीले गृह मन्त्रालयसँग पत्राचार गरिसकेका छौं ।’

उनका अनुसार गृहको स्वीकृतिमा सोमबार हेलिकप्टरबाट अलपत्रको उद्दार गर्ने तयारी गरिएको छ । ‘आज रात परिहाल्यो । अहिले उहाँहरु ओडारमा बस्नु भएको र सकुशल हुनुहुन्छ भन्ने खबर आएको छ’, उनले भने ।

घटना क्षेत्र जिल्लाको अति विकट पहाडी क्षेत्र मानिन्छ । यो दैलेखको सीमाना नजिक रहेको बताइएको छ । हिउँ परिरहेका कारण बाटो नदेखिने अवस्था रहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment