Comments Add Comment

उत्तरबाट बाहिरिन थाल्यो पानी पार्ने प्रणाली, बेलुकाबाट मौसम सुधारिने

१९ पुस, काठमाडौं । शनिबार बेलुकीपखबाट देशभरकै मौसम सुधारिने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यद्यपि, शनिबार दिउँसो र साँझपख केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता पहाडी भागमा वर्षा तथा हिमाली भागमा भारी हिमपात भइरहेको छ । महाशाखाका अनुसार, शनिबार बेलुकीपखबाट यो क्रममा सुधार आउने छ ।

बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको नयाँ मौसम प्रणाली देशको उत्तरपूर्वी भूभाग हुँदै बाहिरिन थालेकाे मौसमविदको भनाइ छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार, तराईका जिल्लाको मौसम अहिले सफा भइसकेकाे छ । काठमाडौंसहित मध्यका तराईसँगै पूर्वी पहाडी भागमा बेलुका हल्का वर्षा भए पनि त्यसपछि यी क्षेत्रकाे मौसम सुधारिने उनले बताए ।

‘काठमाडौंसहित देशका केही भागमा दिउँसो र साँझ हल्का वर्षा हुनसक्छ’, मौसमविद् श्रेष्ठले अनलाइनखबरसँग भने, ‘बेलुकीपखबाट भने मौसम क्रमिक रूपमा सुधारिँदै जाने देखिन्छ ।’

काठमाडौंमा शुक्रबार बिहानदेखि वर्षा भए पनि शनिबार पानी परेकाे छैन । महाशाखाका अनुसार  काठमाडौंकाे न्यूनतम तापक्रम शनिबार बिहान ५ डिग्री सेल्सियस मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment