
२३ पुस, डोटी । दिपायल सिलगढी नगरपालिकाकी आशा (नाम परिवर्तन) संगको वैवाहिक सम्बन्ध विच्छेद् गर्नका लागि उनका श्रीमानले अदालतमा निवेदन दिएका छन् ।
तीन वर्ष पहिले वैवाहिक सम्बन्धमा बाँधिएकी आशाको उमेर हाल २० वर्ष भयो । रोजगारीका लागि भारत आउजाउ गर्ने उनका श्रीमानले श्रीमती नियमित रुपमा घरमा नबस्ने गरेको दाबी गर्दै सम्बन्ध विच्छेद्को निवेदन दिएका छन् । आशाका माइती र ससुराती दुवै परिवारको सहमतिमा उनको बिहे भएको थियो ।
बोगटान फुड्सिल गाउँपालिकाकी रत्ना (नाम परिवर्तन) हाल १८ वर्षकी मात्र भइन् । उनले दुई वर्ष पहिले भागेर विवाह गरिन् । उनी अहिले गर्भवती छन् । उनका १९ वर्षीय श्रीमान् ६ महिनादेखि रोजगारीको सिलसिलामा भारतमा छन् ।
प्रसूतिको मिति नजिकिदै जाँदा रत्नाले निकै सास्ती खेप्नु परेको छ । उनलाई परिवारका सदस्यहरुले पनि राम्रो व्यवहार गर्दैनन् । काँचो उमेर त्यसैमा दुई जीउकी, दिउँसोभरी काम गर्दै थाक्छिन् उनी ।
करिब तीन वर्ष पहिले एक अपरिचित केटाले उनलाई फोन गर्यो । एक दिन, दुई दिन कुरा गर्दै जाँदा फोनबाटै दुवैको माया बस्यो । अन्ततः परिवारको सहमति बिनै दुवैले भागेर बिहे गरे । दुई वर्षमै उनको सम्बन्धमा दरार आउन थालेको छ । रत्ना भन्छिन् ‘घरमा सधैं कचकच भइरहन्छ, परिवारका सदस्यहरुले गाली गर्नु हुन्छ । यो कुरा श्रीमान्लाई फोनबाट भने पनि उहाँले खासै चाँसो दिनु हुन्न् ।’
सायल गाउँपालिकाकी लक्ष्मी (नाम परिवर्तन) को बिहे भएको चार वर्ष भइसक्यो । उनको करिब अढाई वर्षको एक छोरा छ । हाल उनी गर्भवती छिन् । उनका श्रीमान् पनि रोजगारीको सिलसिलामा भारतको मुम्वईमा छन् ।
मोवाइल फोनले लमीको काम गरेपछि १५ वर्षको उमेरमै बिहे गरेकी लक्ष्मीको घरमा अचेल सधैं खटपट भइरहन्छ । खट्पट् हुनुको मुख्य कारण लक्ष्मीका माइती र श्रीमानको जात नमिल्नु हो । दुवै परिवार दलित हुन तर दलितभित्रको विभेद्ले उनीहरुको वैवाहिक सम्बन्धलाई चार वर्षसम्म पनि स्वीकार्न सकेको छैन ।
‘दिनदिनै ससुराले घरबाट गइहाल, तेरो यो घरमा काम छैन् भन्नुहुन्छ’ लक्ष्मी भन्छिन्, ‘श्रीमानले पनि आफ्नो बुवाको बिरुद्धमा केही बोल्नु हुन्न ।
फोनमा ‘सँगै जीउने संगै मर्ने’ भन्दै रातदिन कसम खाने उहिलेका प्रेमी श्रीमान् भएपछि विस्तारै फेरिएको महसुस गर्दैछिन् लक्ष्मीले । त्रसित हुँदै उनी भन्छिन्, ‘कतै श्रीमानले मलाई छोड्नुभयो भने, ‘मेरा बच्चाहरुको बिचल्ली हुने हो ।’ करिब ६ महिनाको गर्भ बोक्दै हिँडेकी लक्ष्मी पारिवारिक किचलोकै कारण कति बेला त गर्भपतन गराउनेसम्म सोच्छिन् ।
यी घटना त प्रतिनिधि पात्र मात्रै हुन, २० वर्ष नपुग्दै पारिवारिक खट्पट् हुने धेरै युवतीहरु छन् । मोवाइल फोन र सामाजिक सञ्जाल फेसवुकले सम्बन्ध निर्माण गरी भागेर विवाह गर्ने र विस्तारै पारिवारिक खट्पट् भएर घरवारै बिग्रिने अवस्थामा पुग्ने गरेको छ ।
सुरक्षित अल्पकालीन महिला जिल्ला सेवा केन्द्रकी संयोजक देवकी बोहराका अनुसार घरेलु हिंसामा पर्ने महिलाहरुमा करिब ६० प्रतिशत २०/२२ वर्षकै उमेरका हुने गरेका छन् । ‘प्रेम सम्बन्धको नाटक गरी बिहे गर्ने बाचासहित सम्बन्ध राखेर पछि धोका दिएका घटनाहरु पनि धेरै आउने गरेका छन्,’ बोहराले भनिन्, ‘बिहे भइसकेर घरेलु हिंसामा परेका महिलाहरु पनि धेरै छन् ।’
कलिलै उमेरमा दाम्पत्य जीवन बिग्रिनुको मुख्य कारण महिलाहरु आत्मनिर्भर नहुनु भएको महिला अधिकारकर्मी तथा जिल्ला समन्वय समिति डोटीका उपप्रमुख शशी सोव बताउँछिन् । ‘पुरुषहरुमा अहिले पनि हामीले श्रीमती पालेका छौं भन्ने दम्भ छ’ उपप्रमुख सोव भन्छिन्, ‘कतिपय महिलाहरु पनि आफूले केही गरौंं भन्ने भन्दा पनि हामीलाई पाल्ने जिम्मा पुरुषहरुको हो भन्ने सोच्ने गरेका कारण यो समस्या आएको हो ।’
पछिल्लो समयमा महिलाहरुले देखासिखिमा पनि पारिवारिक सम्बन्ध बिगार्ने गरेको सोवको बुझाइ छ । छिमेकी महिलाको तडक भडकको जीवन देखेपछि आफूलाई त्यस्तै चाहिन्छ भनेर माग गर्ने, आफ्नो माग पूरा नभएपछि खट्पट् हुँदै जाने गरेको सोव बताउँछिन् ।
कलिलै उमेरमा भएको बिहेमा केटाकेटीले एकअर्कालाई राम्रोसँग नबुझेको हुने तर जब बुझ्दै जाँदा एक अर्काका भावनाहरु नमिल्ने गरेका कारण समस्या भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल बताउँछन् । ‘परम्परा, गरिबी, देखासिखी, मोवाइल फोन जस्ता कारणले कलिलै उमेरमा बिहे हुने गरेको छ’ पौडेलले भने, ‘पछि परिवारका आवश्यकता र चाहना बढ्दै गएपछि समस्या देखिन्छ ।’ उनले कानून कार्यान्वयन प्रभावकारी रुपमा हुन नसक्नु पनि यसको कारण भएको बताए ।
प्रतिक्रिया 4