Comments Add Comment

दीपकदेखि झरनासम्म, चल्तापूर्जा चलचित्रकर्मी केमा व्यस्त ?

केही दिन अगाडि चलचित्र ‘हिजो आजका कुरा’को गीत छायांकन गरियो । उक्त गीतमा चलचित्र ‘छक्का पञ्जा’ टिमका सम्पूर्ण कलाकार फिचर हुने चर्चा थियो । तर, गीतको छायांकनमा ‘छक्का पञ्जा’का लिडर दीपकराज गिरी देखिएनन् ।

‘आखिर दीपक किन गीतको छायांकनमा आएनन् ? प्रश्न धेरैको थियो । उत्तरमा दीपाश्री निरौलाले दीपकराज चलचित्र ‘छक्का पन्जा ४’को कथामा व्यस्त भएकाले नआएको बताइन् । दीपकलाई स्क्रिप्ट लेख्ने समयमा कुनै अवरोध मन पर्दैन रे ।

दीपक अहिले गुपचुप भएर चलचित्र ‘छक्का पञ्जा ४’ को स्क्रिप्ट लेखिरहेका छन् । पूर्ण स्क्रिप्ट तयार नभएसम्म उनी सार्वजनिक कार्यक्रममा पनि खासै पुग्दैनन् । उनले स्क्रिप्टको पूर्ण ड्राफ्ट तयार गरेपछि मात्र बाहिर निस्किने छन् । ‘जात्रै जात्रा’को सफलतापछि निर्देशक प्रदीप भट्टराई पनि गुपचुप बसेर चलचित्रको कथा लेखिरहेका छन् । सफलतामा ह्याट्रिक गरेका उनलाई पनि अर्को सफल चलचित्र बनाउनु पर्ने चुनौती छ ।

प्रदीप अहिले सामाजिक विषयबस्तुमा कथा तयार गरिरहेका छन् । उनका अनुसार अहिले समाजलाई देखाउनै पर्ने कथालाई उनले चलचित्रको पर्दामा देखाउने प्रयास गरेका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘मेरो पहिलाको चलचित्र भन्दा अहिले लेखिरहेको चलचित्रको विषयबस्तु निकै गहकिलो छ । तर, गहकिलो भन्दैमा पूरै सिरियस कथा होइन । हामीले त्यसलाई रमाइलो पारामा नै प्रस्तुत गर्नेछौँ ।’

यस पटक प्रदीप भट्टराईले आफ्नो गुरु ‘मह जोडी’सँग सहकार्य गर्दैछन् । उनले भने–‘हाम्रो चलचित्रमा मह जोडीदेखि अहिलेको पुस्ताका कलाकारहरुसम्म अटाउनु हुन्छ् । सबैलाई समेटेर कथा लेख्दैछु ।’
त्यस्तै, चलचित्र ‘बुलबुल’का निर्देशक विनोद पौडेल पनि अहिले नयाँ चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् । देशदेखि विदेशसम्म चर्चा पाएको चलचित्र ‘बुलबुल’पछि अर्को चलचित्र झनै राम्रो बनाउनु पर्ने चुनौतीका साथ उनी काम गरिरहेका छन् ।

विनोदले शरणार्थीको कथामा एउटा स्क्रिप्ट तयार गरिसकेका छन् । यस चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ । यो चलचित्रको लागि विनोद लगानीकर्ताको खोजीमा छन् ।

उक्त चलचित्र भन्दा अगाडि नेपालमा नै निर्माण गर्ने गरी एक चलचित्रको कथा विनोदले लेखिरहेका छन्। उनले भने–‘नेपालमा निर्माण हुने चलचित्र युवापुस्ताको कथामा छ । यो चलचित्रले नेपाली परिवेशका युवाहरुको कथालाई भन्नेछ ।’

रामबाबु गुरुङ भने चलचित्र निर्देशनको मेसिन बनेका छन् । यस वर्ष उनी निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएको थियो । उक्त चलचित्र रिलिज भएको केही समयमा नै उनले ‘धुर्मुस(सुन्तली’को चलचित्र ‘सेन्टी भाइरस’ निर्देशन गरेका छन् । ‘सेन्टी भाइरस’ अहिले रिलिजको तयारीमा छ ।

यो चलचित्रपश्चात् रामबाबुले ‘सक्किगोनी’ टिमले निर्माण गर्ने चलचित्र निर्देशन गर्ने चर्चा पनि चलिरहेको छ । उक्त चलचित्र पश्चात रामबाबुले हातमा बुद्धी सागरको चलचित्रमा पनि काम गर्ने तय भइसकेको छ ।
यी दुई चलचित्रको तयारी गरिरहेका रामबाबु आफ्नो पूरानो टिमसँग पनि काम गरिरहेका छन् । उनी अहिले बाहिरी कार्यक्रमहरुमा खासै उपस्थित छैनन् । उनी चलचित्रको लेखन र निर्देशनको तयारीमा लागिरहेका छन् ।

निर्देशक झरना थापा आफ्नै होम प्रोडक्सनबाट चलचित्र ‘ए मेरो हजुर ४’ बनाउने तयारीमा लागिरहेकी छिन् । चलचित्रमा उनले ‘ए मेरो हजुर ३’को हिट जोडी अनमोल केसी र सुहाना थापालाई नै मुख्य भूमिकामा प्रस्तुत गर्दैछिन् । चाडै छायांकनको तयारीमा रहेको यो चलचित्रको अहिले कथामा काम भइरहेको छ । झरना लभ स्टोरी चलचित्र निर्माण गर्ने तयारीमा छिन् ।

चलचित्र ‘क्याप्टेन’ रिलिज पछि निर्माता भुवन केसी नयाँ चलचित्रको तयारीमा लागिरहेका छन् । छोरा अनमोल केसीलाई नै मुख्य भूमिकामा लिएर उनी चलचित्र ‘एन्टी हिरो’ निर्माण गर्ने सुरमा लागिरहेका छन् । यो चलचित्रमा भुवनले पनि अभिनय गर्ने छन् ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिजपछि निर्देशनमा रेनशा राईको पनि चर्चा चल्यो । चलचित्रको सक्सेस पार्टीमा उनले नयाँ चलचित्रको रुपमा ‘आइ एम ट्वान्टी वान’ निर्माणको घोषणा गरिन् । घोषणा भएको लामो समय बितिसक्दा पनि यो चलचित्रको छायांकन सुरु भएको छैन् । निर्देशक रेनशा चलचित्रको स्क्रिप्ट बलियो बनाएर मात्र छायांकनमा जाने योजनामा छिन् ।

चलचित्रको लागि रेनशाले नायक धिरज मगर र नायिका जसिता गुरुङलाई साइन गराइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment